आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खोल्ने सरकारको निर्णय

by समतल अनलाइन

काठमाडौँ । सरकारले आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको हो ।

सरकारले स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हो ।सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान बन्द गरेको थियो ।

वामदेवलाई राष्ट्रिय सभामा सिफारिश

सरकारले राष्ट्रियसभाको रिक्त सदस्य पदमा सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि एक सिट ६ महिनादेखि खाली छ ।नेकपाको सचिवालयले यो सिटमा गौतमलाई सिफारिस गर्ने निर्णय यसअघि नै गरेको थियो ।

कुलमानको प्रस्ताव नै गएन

सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रस्ताव पेस नभएको बुझिएको छ ।एक मन्त्रीका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठक यस सम्बन्धि प्रस्ताव नै नआएको बताइएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको म्याद आइतबार सकिएको छ ।कुलमानलाई पुनर्नियुक्ति गरिने तयारी गरिएको बताइएपनि सरकारले अझै निर्णय गरेको छैन ।आम नागरिकले कुलमानलाई पुनर्नियुक्ति दिनुपर्ने भन्दै सामाजिक संजाल र मिडियामा दबाब दिने क्रम बढ्दै गएको छ ।

 

 
 
  
 

You may also like