प्रदेश ५ का कोरोना अस्पतालमा थप ५ सय ८३ जना स्वास्थ्यकर्मी भर्ना गरिने, ४ करोड बजेट निकासा

by समतल अनलाइन

बुटवल । प्रदेश ५ का चार वटा कोरोना अस्पतालहरुको क्षमता बढाउन प्रदेश सरकारले जनशक्ति थप गर्ने भएको छ । सरकारले प्रदेशभित्रका चार वटा कोरोना विशेष अस्पतालमा जनशक्ति र बजेट थप गरेको छ।
अस्पतालहरुमा स्वास्थ्यकर्मीको परिपूर्ती गर्न ३ महिनाका लागि करारमा स्वास्थ्यकर्मी भर्ना गर्ने सरकारले निर्णय गरेको छ । उनीहरुले निजामती कर्मचारी सरह सेवा सुविधा दिने प्रदेश सरकारले बजेट व्यवस्था गरेको छ । मन्त्रिपरिषद्को विहिबारको बैठकको निर्णय अनुसार ५ सय ८३ जना थप कर्मचारीहरु भर्ना गने निर्णय गरेको छ । यसका लागि ३ करोड ९६ लाख ३२ हजार रुपैंया छुट्याएको छ ।
प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल मातहतको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा १ सय ८९ जना, भैरहवाको भीम अस्पतालमा ७१ जना, दाङको बेलझुण्डीस्थित आयुर्वेद अध्ययन संस्थानमा सञ्चालित कोरोना अस्पतालमा १ सय ७१ जनशक्ति थप गर्ने निर्णय भएको छ। त्यस्तै भेरी अस्पताल बाँकेमा १ सय ५२ जना जनशक्ति राख्ने निर्णय भएको छ।

निर्णय अनुसार कोरोना विषेश अस्पतालमा बुटवलमा आईसीयू बेड १८, एचडी ९आईसीयूभन्दा केही कम सुविधा हुने० बेड २०, आइसोलेन बेड ३६ गरी ७४ बेड थपिनेछन्। कोरोना विशेष अस्पताल बुटवलले जनशक्ति र बेड कम भएका कारण उपचार नपाएर बिरामीको मृत्यु भएको भन्दै सामाजिक मन्त्रालयलाई सुविधा थप गर्न अनुरोध गरेको थियो।

त्यस्तै भीम अस्पतालमा आईसीयू ५, एचडी बेड १३, आइसोलेसन ९ गरी २७ बेड र बेलझुण्डीमा आईसीयू १०, एचडी बेड १७ र आइसोलेसन बेड ५८ गरी ८५ बेड रहनेछन्। भीममा अहिले ५ वटा आइसीयू बेड रहेका छन् र अरु बेड थपिनेछन्। भेरी अस्पतालमा आईसीयू १०, एचडी बेड ३० र आइसोलेसन बेड २० गरी ६० बेड रहनेछन्।

प्रदेश सरकारले स्वीकृत गरेको तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ बजेटमध्ये लुम्बिनी प्रादेशिक बुटवलका लागि एक करोड ७५ लाख ११ हजार ९ सय, भीम अस्पताल भैरहवाका लागि ६४ लाख ४७ हजार ९ सय, केन्द्रीय आयुर्वेद अस्पताल बेलझुण्डी दाङका लागि एक करोड ५६ लाख ७२ हजार ३ सय र भेरी अस्पताल बाँकेका लागि एक करोड ४० लाख ७२ हजार ६ सय रुपैयाँ निकासा गरिएको छ।

 
 
  
 

You may also like