संकटकै बेला महँगियो भान्सा : खाद्यवस्तुको मूल्यवृद्धि गत वर्षको तुलनामा दोब्बर

९ भाद्र २०७७, मंगलवार

काठमाडौं ।कोभिड १९ का कारण बेरोजगारी बढिरहेको अवस्थामा खाद्यान्नको मूल्य पनि अकासिएको छ। दैनिक उपभोग्य वस्तु खाद्यान्न र तरकारीको मूल्य बढेपछि आम्दानी कम हुनेलाई भान्सा चलाउन हम्मेहम्मे परेको छ ।

काठमाडौं उपत्यकालगायत मुलुकका ५२ जिल्लामा निषेधाज्ञाका कारण खपत घटिरहेका बेला केही तरकारीको भाउ सतप्रतिशतसम्म महँगो भएको छ । तरकारीको खपत घटेको बेला मूल्य घट्नुपर्नेमा ठीक उल्टो भएर भाउ बढेको हो । कोरोनाका कारण क्रयशक्ति गुमाइरहेका बेला महँगी बढेपछि दैनिक ज्यालादारी गर्ने, निजी क्षेत्रमा काम गर्ने, सानोतिनो व्यवसाय गर्ने र विद्यार्थी मर्कामा परेका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार खाद्यवस्तुको मूल्य वृद्धि दर गत सालको तुलनामा दोब्बरभन्दा बढी छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार खाद्य तथा पेय पदार्थमा मुद्रास्फीति ८.१६ प्रतिशत पुगेको छ । पोहोरको तुलनामा मुद्रास्फीति ५.०७ प्रतिशतले बढेको हो । पोहोर खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति वृद्धिदर ३.०९ प्रतिशतमा सीमित थियो ।

कोरोनाको कारण उपत्यकालगायत अधिकांश जिल्लामा निषेधाज्ञा हुँदा आयात तथा ढुवानीमा कठिनाइ भएपछि भाउ बढेको व्यापारी बताउँछन् ।

गत वर्षको तुलनामा आलुको भाउ एक सय १९ प्रतिशत बढेको छ । पोहोर भदौ पहिलो साता २६ रूपैयाँ किलोमा बिक्री भएको आलु अहिले बढेर ५९ रूपैयाँ पुगेको छ । काउलीको भाउ करिब सतप्रतिशत बढेको छ । पोहोर ६८ रूपैयाँमा बिक्री भएको स्थानीय काउलीको मूल्य एक सय ३५ रूपैयाँ पुगेको छ ।

कालीमाटीमा गोलभेंडाको थोकमूल्य ७० रूपैयाँ किलो भए पनि खुद्रामा एक सय रूपैयाँ किलोमा बिक्री भइरहेको छ । घिउसिमी मूल्य एक सय ४० प्रतिशत, परवल ८३ प्रतिशत, भिन्डी ९४ प्रतिशत र सागको मूल्य ५० प्रतिशतले बढेको छ ।

अहिले घिउसिमी किलोको एक सय ४० रूपैयाँ, भिन्डी ६८ रूपैयाँ, साग ८५ रूपैयाँ किलोमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया