नेपालमा पनि कोरोनाको यी तीन खोप परीक्षण गरिंदै

by समतल अनलाइन

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बेलायतको अक्सफोर्ड विश्वविद्यालय, नेपालस्थित रुसी राजदूतावास र चीनको होङ्सी कम्पनीसँग छलफल सुरु गरेको छ ।

सरकारले कोरोना भाइरसविरुद्धका खोपको तेस्रो चरणको परीक्षण नेपालमा गर्न तीन प्रमुख अन्तर्राष्ट्रिय निर्मातासँग छलफल अगाडि बढाएको छ । सरकारमातहतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बेलायतको अक्सफोर्ड विश्वविद्यालय, नेपालस्थित रुसी राजदूतावास र चीनको होङ्सी कम्पनीसँग छलफल सुरु गरेको हो ।

परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले नेपालका लागि रुसी राजदूत अलक्साई नोभिकोभलाई सोमबार भेटेर यससम्बन्धी छलफल गरेका छन् । रुसी राजदूतले नेपालमै कम्पनी खोलेर खोप उत्पादन गर्न वा खरिद गरेर प्रयोग गर्न सहयोग गर्न आश्वासन दिएको ज्ञवालीले बताए ।

ज्ञवालीका अनुसार सुरुमा एक हजार डोज खोप उपलब्ध गराउन रुसी राजदूत तयार भएका छन् । मस्कोमा रहेको गेमालेया इन्स्टिच्युट अफ इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीद्वारा कोरोना भाइरसविरुद्ध निर्मित खोप रुसले दर्ता गरिसकेको छ । तर यसको तेस्रो तथा अन्तिम चरणको परीक्षण हुन बाँकी छ ।

यसैगरी गत साता नेपाल भ्रमणमा आएका अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक एन्ड्र्यु पोलार्डसँग पनि उक्त विश्वविद्यालयले निर्माण गर्न लागेको खोपको नेपालमा परीक्षण गर्न प्रारम्भिक छलफल भएको छ ।

परिषद्, विश्व स्वास्थ्य संगठन र विश्वविद्यालयका अधिकारीहरूबीचको छलफल सकारात्मक रहेको सदस्यसचिव ज्ञवालीले बताए । अक्सफोर्ड र औषधि निर्माता कम्पनी अस्ट्राजेनेकाले कोरोनाविरुद्धको खोप परीक्षणलाई अन्तिम चरणमा पुर्‍याएका छन् । विश्वका विभिन्न देशमा यसको परीक्षण हुँदैछ । ज्ञवालीले यो खोपको परीक्षण नेपालमा पनि गरिने प्रारम्भिक सहमति भएको तर कतिजनामा गर्ने भन्ने टुंगो लागिनसकेको बताए ।

यसैगरी चीनको होङ्सी कम्पनीले निर्माण गरेको खोपको नेपालका १ हजार स्वयंसेवकमा परीक्षण गर्न पनि छलफल सकारात्मक रहेको ज्ञवालीले बताए । ‘चीनको यो कम्पनीले नेपालमा खोप परीक्षण गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो । हामीले यससम्बन्धी राय दिन गृहकार्य गरिरहेका छौं,’ ज्ञवालीले भने ।

कोरोना भाइरसविरुद्धको खोप निर्माणमा हाल विश्वव्यापी प्रतिस्पर्धा छ । विश्वका आधा दर्जन औषधि उत्पादक कम्पनी खोपको अन्तिम चरणको परीक्षणमा पुगेका छन् । नागरिक दैनिकबाट

 

 
 
  
 

You may also like