पहिरोले दशककै बढी क्षति

by समतल अनलाइन

काठमाडौं ।मनुसन अवधिमा यसपटक पहिरोले २०६८ यताकै बढी मानवीय क्षति गरेको छ । पहिरोले २ सय ५४ जनाको ज्यान लिएको छ । ८१ जना बेपत्ता छन् । १ सय ५२ जना घाइते भए । यो तथ्यांक मनसुन सुरु भएपछि २ महिना ७ दिनको हो । यो वर्ष जेठ ३१ मा मनसुन सुरु भएको थियो ।

मनसुन अझै भदौसम्म जारी रहने देखिएको छ । सिन्धुपाल्चोक, बझाङ, म्याग्दी, कास्की, जाजरकोट, अछाम, कास्की, तनहुँ, संखुवासभा, डोटी, हुम्लालगायत ५१ जिल्लामा बढी जनधनको क्षतिको भएको छ । हजारौं जना विस्थापित भए पनि यकिन तथ्यांक छैन । अर्बौं रकमको अन्नबाली क्षति पुगेको छ ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका इन्चार्ज एवं उपसचिव मुरारी अवस्थीले यो वर्ष पहिरोले ठूलो क्षति गरेको बताए । ‘मनसुनको सुरुआतदेखि नै दुःख दिइरहेको छ’, उपसचिव अवस्थीले भने ।

उनले गत वर्ष जम्मा ८३ जनाको मात्रै मृत्यु भएको उल्लेख गरे। ११ जना बेपत्ता भएका थिए । ‘गत वर्षभरिको तुलनामा यसपटक एकै महिनामा बढी विनाश भएको छ’, उनले भने, ‘असारमा मात्रै पोहोरभन्दा बढी क्षति भएको छ । साउनमा त झन् बढेको छ ।’

केन्द्रको तथ्यांकले २०६८ मा १ सय ४, २०६९ मा ४३, २०७० मा ६५, २०७१ मा ९४, २०७२ मा ९२, २०७३ मा १ सय ३६, २०७४ मा ५९, २०७५ मा ७७ जनाको ज्यान गएको देखाउँछ । यस्तै, बेपत्ता र घाइतेको संख्या क्रमशः २०६८ मा २४, ७९, २०६९ मा ८, ३०, २०७० मा १८, ४४, २०७१ मा १ सय २९,९३, २०७२ मा १३, ७३, २०७३ मा ८, १ सय १५, २०७४ मा १५, ४४ र २०७५ मा १, १ सय ८ छ ।

इन्चार्ज अवस्थीका अनुसार यो वर्ष पहिरोका मात्रै १ सय ४ घटना भएका छन् । असारमा भएका २९ घटनामा १ सय ८ जनाको मृत्यु भयो । ४७ जना बेपत्ता भए । ४६ जना घाइते भए। साउनमा ६४ घटना हुँदा १ सय ३२ जनाको मृत्यु भयो । १७ जना बेपत्ता भए । ८७ घाइते भए । भदौ पहिलो सातासम्म ११ वटा पहिरो गइसकेका छन् । यी घटनामा १४ जनाको मृत्यु भएको छ भने १७ बेपत्ता छन् । १९ जना घाइते भएका छन् । घाइतेमध्ये ८० प्रतिशत निको भएर घर फर्किसकेका छन् ।

म्याग्दीका १ हजार ५ सय, सिन्धुपाल्चोकका २ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । हुम्लामा ६ सय २ घर पहिरोमा परेका छन् । दर्जनौं पुल, बाटो भत्किए । सडक अवरुद्ध भए । पशुचौैपाया मरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

 
 
  
 

You may also like