बुटवल उपमहानगरपालिकाले दमकल र सरसफाई बाहेकका सबै सेवा बन्द गर्ने

by समतल अनलाइन

बुटवल । उपमहानगरपालिकामा ३ जना अधिकृत र १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उपमहानगरपालिकाले स्वास्थ्य, सरसफाई र दमकल सेवा बाहेक सबै सेवाहरु बन्द गरेको छ ।शनिबार उपमहानगरका लेखा अधिकृतलाई संक्रमण देखिएकोमा आईतबार प्रशासन र सामाजिक विकास शाखा अधिकृतसहित थप १ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि उपमहानगरका तोकिएका बाहेक सबै सेवा बन्द गरिएको हो ।

उपमहानगरपालिकामा सबैलाई प्रवेश निषेध गरिएको छ । अर्को सुचना जारी नभएसम्म स्वास्थ्य, दमकल र सरसफाई बाहेकका काम बन्द गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले बताए ।

शर्माका अनुसार उपमहानगरमा बैंक तथा वित्तीय संस्थाहरुमा बढी संक्रमण देखिएकाले आइतबार देखिनै लागु हुने गरि बैंक तथा वित्तीय संस्थाहरुलाई अनलाईन बाहेकका सबै सेवाहरु बन्द गर्न उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

त्यस्ता कार्यालयका सेवा बन्द गराउन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको प्रमुख प्रशासकिय अधिकृत शर्माले बताए ।बुटवल उपमहानगरमा पछिल्लो २ दिनमा मात्र समुदाय स्तरमा ४० जनाको संख्यमा संक्रिय कोरोना संक्रमित थपिएका छन् ।

 
 
  
 

You may also like