“एउटा कविको अन्त्य”

  • ✍️हेमन्त गिरी, जापान

उसलाई झरनाको कविता लेख्न भनियो
उसले आमाको आँशु लेखिदियो !!

उसलाई पहाडको कविता लेख्न भनियो
उसले बाबुको छाती लेखिदियो !!

उसलाई नदीको कविता लेख्न भनियो
उसले संगिनीको रजरस लेखिदियो !!

उसलाई हिमालको कविता लेख्न भनियो
उसले पुर्खाको शीर लेखिदियो !!

आकासको कविता लेख्न भनियो
चुहिने छानो लेखिदियो !
धर्तीको कविता लेख्न भनियो
कैलै नभरिने मानो लेखिदियो !

र अन्तिममा
देशको कविता लेख्न भनियो
उसले पानाहरू नै खाली छोडिदियो !

कस्तो अटेर कवि ?!
आकस्मिक बैठक बस्यो निर्णायकहरूको
गाइँ-गुइँ चल्यो समालोचकहरू बिच
वरिष्ठ,विशिष्ठ,पदवाला,कदवाला
सबैको एउटै राय भो-
कवितामा भाव आएन, कला आएन !
विम्ब,प्रतीक कविले कतै देखाएन !
निष्कर्ष निकाल्यो बैठकले-
यो त कविता नै भएन !
यो कविले कविता लेख्न जानेन !
यो कविले कविता लेख्नै खोजेन !
अटेर कविलाई बहिष्कार गरौं !!

…………

वर्षौं पहिले हराएको त्यही कवि
अचेल भेटिन्छ
सहरका गल्लीहरूमा
कहिले भट्टी पसल

कहिले मृगस्थलीमा !
भरेर नशा
कविता लेखिएका पानाहरूमा
सल्काउँछ सिगरेट

उडाउँछ धुवाँ !
भन्छ-
कविहरू राजनीतिमा पसे पछि
म कविताको देश बाट भागेको हुँ !
कवि भइन त के भो,
अक्षरहरू खरानी बन्न थाले देखि
म महाकवि भएको छु !!

 
 
  
 

You may also like