न्यून चापीय रेखा पूर्वतर्फ, यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। नेपालमा बुधबारदेखि केहि कम बर्षा भए पनि बाढी, पहिरो र डुबानको जोखिम अझै नसकिएको मौसमविदले बताएका छन् ।अघिल्लो हप्ताको तुलनामा आउँदा तीन दिन केहि कम बर्षा हुने सम्भावना रहे पनि बर्षातको मौसम भएका कारण बाढी, पहिरो र डुबानको समस्या रहिरहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरुण पौडेलले बताएका छन् । बुधबारदेखि बर्षा केहि मत्थर मात्र भएको जानकारी दिंदै पौडेलले भने, यो मनसुनको बेला हो, वर्षा भइरहन्छ । बाढी पहिरोको जोखिम टरेको होइन, सतर्कता अपनाउनै पर्छ ।’

उनले न्यून चापीय रेखाको पश्चिमी भाग मात्र नेपालदेखि केहि टाढा ९दक्षिण० सरेको भए पनि पूर्वतर्फ भने यो रेखा नजिकै रहेको बताए । यसैकारण अब पश्चिममा भन्दा पूर्वमा बढी बर्षा हुने सम्भावना रहेको बताए ।

मौसमविद्का अनुसार मनसुनी न्यून चापीय रेखा भनेको वर्षा गराउने एउटा मौसमी प्रणाली हो । जुन नेपालको जति नजिक हुन्छ उति वर्षा पनि बढ्छ । यो रेखा दक्षिणतिर सर्दा भारतमा वर्षा बढी हुन्छ भने नेपालमा कम हुन्छ ।

पाँच वटा प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश–५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा सडक तथा हवाई यातायात समेत प्रभावित हुने र ढल तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले सचेत गराएको छ । बाँकी क्षेत्रमा मौसम बदली रही हल्का तथा मध्यम वर्षा हुने विभागले जनाएको छ ।

यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

 

 
 
  
 

You may also like