कोरोनाबाट थप तीन जनाको मृत्यु, नेपालमा मृतकको संख्या ३८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप तीन जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।काठमाडौंका दुई र सिन्धुपाल्चोकका एक संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।काठमाडौंको वडा नं १० शंखमूलका ६० वर्षीय पुरुषको उपचारको क्रममा पाटन अस्पतालमा असार २६ गते मृत्यु भएको मन्त्रायलका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।फोक्सोमा पानी जमेको र मिर्गौलामा समस्या भएपछि उनी असार १६ गते अस्पताल भर्ना भएको मन्त्रालयले जनाएको छ । उपचारका क्रममा गरिएको कोरोना परीक्षणको पुष्टि भने असार १७ गते भएको थियो ।

यस्तै, सिन्धुपाल्चोकका ४५ वर्षीय कोरोना संक्रमित एक पुरुषको पनि मृत्यु भएको छ । क्षयरोगको उपचारका लागि असार १८ गते पाटन अस्पतालमा भर्ना भएका उनको २५ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनको असार २२ गते कोरोना पुष्टि भएको थियो ।यस्तै काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कजेल ( केएमसी ) अस्पतालमा मृत्यु भएका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

बिहीबार मृत्यु भएका ती पुरुषमा शुक्रबार मात्र कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ती पुरुष काठमाडौंको गोकर्ण निवासी हुन् । उनी असार १९ गते भर्ना भएका थिए । मन्त्रालयका अनुसार ती पुरुष मिर्गौलाका बिरामी हुन् ।

 
 
  
 

You may also like