रुपन्देही उद्योग संघद्वारा प्राधिकरणलाई ज्ञापन पत्र

बुटवल। लामो समयको लक डाउनले तहसनहस भएको उद्योग क्षेत्र नेपाल बिद्युत प्राधिकरणबाट पाउनुपर्ने छुट सुविधा नपाउँदा थप चिन्तित बनेको छ । सरकारले लकडाउन अवधिको डिमाण्ड चार्ज शत प्रतिशत र महसुलमा केही छुट सुविधा दिने घोषणा गरेता पनि बिद्युत प्राधिकरणले सुविधा उपलब्ध नगराउँदा उद्योगीहरु अन्यायमा परेको भन्दै रुपन्देही उद्योग संघले तत्काल छुट सुविधा उपलब्ध गराउन नेपाल बिद्युत प्राधिकरण प्रदेश कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वमा गएको टोलीले कार्यालयका प्रबन्धक नवराज सुवेदीलाई भेट गरी संघको ज्ञापन पत्र बुझाएको हो । संघले आर्थिक मसान्तको समाप्तीको संघारमा आईपुगेका उद्योगीहरु बैंक कर्जा, ब्याज, पारिश्रमिक, बिद्युत महसुल लगायतका थुप्रै खर्चहरु तत्काल तिर्न नसक्ने भएकाले सरकारका विभिन्न निकाय र बैंक तथा वित्तिय संस्थाहरुले उद्योगीलाई तत्कालका लागि सहुलियत प्रदान गर्नुपर्ने बताएको छ । प्राधिकरणले डिमाण्ड र महशुलको छुट तत्काल उपलब्ध गराउनुपर्ने र लक डाउन अवधीमा बन्द अवस्थामा रहेका उद्योगहरुको समेत चालु अवस्था सरह गरिएको बिलिङ्ग यथाशिघ्र सुधार गरिनुपर्नेमा संघका अध्यक्ष बाबुराम बोहोराले जोड दिनुभयो ।

ज्ञापन पत्र बुभ्mनुहुँदै प्रबन्धक नवराज सुवेदीले प्राधिकरणको बोर्ड बैठकले पारित नगरेकोले सरकारले घोषणा गरेको सुविधा तत्काल लागु नगरिएको बताउँदै निर्णय पश्चात् छुट सुविधालाई समायोजन गरिने बताउनु भएको थियो । डेलिगेसनको क्रममा बोल्नुहुँदै संघका निवर्तमान अध्यक्ष गणेश प्रसाद अधिकारीले विद्युत प्रवाहमा अझै पनि सन्तोषजनक अवस्था नरहेको र पटकपटक ट्रिपिङ्गको समस्या यथावत रहेकोले प्राधिकरण थप गम्भिर बनिदिन आग्रह गर्नुहुँदै प्राधिकरणले प्रदान गर्ने छुट सुविधा तत्कालै लागु गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

डेलिगेशन टोलीमा संघका वरिष्ठ उपाध्यक्ष माधबप्रसाद पौडेल, प्रथम उपाध्यक्ष दिलिप सापकोटा, महासचिव जिवकान्त काप्mले, महिला सचिव माया खनाल र प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीको सहभागिता रहेको थियो ।

 

 
 
  
 

You may also like