एटिएम ह्याकिङ प्रकरणले नेपाली बैंकहरुको साइबर सुरक्षाप्रति उब्जियो गम्भीर प्रश्न

by समतल अनलाइन

काठमाडौं । एटिएम ह्याकिङ प्रकरणले नेपाली बैंकहरुको साइबर सुरक्षाप्रति गम्भीर प्रश्न उब्जाएको छ । नाफा मात्रै कमाउने तर साइबर सुरक्षाप्रति कम चासो राख्ने बैंकरहरुलाई यस घटनाले पाठ सिकाएको छ । नेपालको बैंकिङ प्रणालीमै घुसेर लाखौं रकम निकाल्ने सक्रिय गिरोहको अप्रेशन प्रहरीले गरिरहेको भएपनि आगामी दिनमा बैंकरहरु थप जिम्मेवार हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न उब्जिएको छ ।

नेपालको बैंकिङ प्रणालीभित्र विदेशी ह्याकरको सहज पहुँचलाई आमनागरिकले गम्भीर रुपमा लिएका छन् । बैंकहरुको एटिएम ह्याकिङ प्रकरणले नेपाली बैंकको सुरक्षा प्रणालीमाथि मात्रै होइन सेवाग्राहीको विवरण र तथ्यलाई सुरक्षित गर्ने विषयमा पनि प्रश्न उठेको छ । घटनाप्रति गम्भीर बन्दै केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले साइबर सुरक्षाका लागि बैंकहरु उदासीन बन्न नहुने जनाएको छ ।

नेपालका बैंकहरुले साइबर सुरक्षाको क्षेत्रमा लगानी नगरेको तर्क पनि राष्ट्र बैंकका अधिकारीहरु नै गर्छन् । आवश्यक पूर्वाधार निर्माण नै नगरी बैंक र एटिएम संचालन गर्नु गलत भएको टिप्पणी पनि छ । नेपाली बैंकको सुरक्षा प्रणालीमा आक्रमण भएकोबारे बैंकर्स संघले स्वीकार गरिरहँदा प्रहरी भने बैंकरलाई पाठ सिकाएको बताउँछ । नागरिकले जम्मा गरेको रकमको सुरक्षा दिने बैंकहरुले आफूलाई प्रविधीमैत्री र सुरक्षित बनाउनुपर्नेमा प्रहरीको भनाइ छ ।

पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुबीच सेवाका नाममा भएको प्रतिस्पर्धाले सुरक्षा सतर्कताप्रति खासै ध्यान नदिएको विज्ञहरुको टिप्पणी छ । एटिएम प्रकरणले नेपाली बैंकको त्यही उदासीनतालाई छर्लङ पारिदिएको छ । अहिले बैंकहरुले एटिएमको प्रयोगलाई जसरी प्रोत्साहित गरिरहेका छन्, त्यस विपरीत प्रणालीको सुरक्षा गर्ने कुरामा बैंकहरु उदासीन देखिएको गुनासो पनि छ । साइबर सेक्युरिटीको विषयमा बैंकहरुले सम्झौता गर्नु र राष्ट्र बैंकले तोकेको मापदण्डमा साइबर सुरक्षाबारे स्पष्ट व्याख्या नहुनुले नेपालको बैंकिङ प्रणालीमा ह्याकरको प्रवेश भएको तर्क पनि विज्ञहरुको छ ।

नेपालको बैंकिङ क्षेत्रमा यसरी थपियो ठूलो चुनौति

बैंकहरुले साइबर सेक्युरिटीको विषयमा सम्झौता गर्नु
बैंकले सुरक्षा प्रणालीलाई सुरक्षित र व्यवस्थित बनाउन नसक्नु
– सिस्टमको सुरक्षा गर्ने कुरामा उदासीन बन्नु
– सिस्टममा कमसल र सस्ता सामाग्रीको प्रयोग बढि गर्नु
– राष्ट्र बैंकले तोकेको मापदण्डमा साइबर सुरक्षाबारे स्पष्ट व्याख्या नहुनु
– बैंकको एटीएम प्रणालीमा प्रयोग हुने सफ्ट्वेर नेपालमा निर्माण नहुनु
– विदेशी सफ्टवेयर महंगो हुने भएकोले बैंकहरुको आकर्षण सस्तोतिर केन्द्रीत हुनु

नेपालको बैंकिङ इतिहासमा एटिएम ह्याक गरेर यति ठूलो रकम चोरी गरेको पहिलो घटना हो । नेपाल प्रहरी बेलैमा सजग हुँदा संलग्न चिनियाँ ह्याकर र चोरी गरेको रकम उम्कन पाएन् । यही शैलीको प्रयोग गरेर केहीअघि भारतमा ८० करोड रुपैयाँ चोरी भएको थियो ।

 
 
  
 

You may also like