बुटवल र बेलायत सरकारबीच समझदारी

by समतल अनलाइन

नेपाल सहरी उत्थानशीलता परियोजना अघि बढ्ने
बुटवल । बुटवल उपमहानगरपालिका र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआईडी) बीच नेपाल सहरी उत्थानशीलता परियोजनामा समझदारी भएको छ ।

बुटवलको आर्थिक समृद्धिका साथसाथै संस्थागत क्षमता विकासका लागि दुवै पक्षले यो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । बुटवलको विकासका लागि महत्वपूर्ण मानिएको उक्त परियोजनामा मंगलबार आयोजित एक कार्यक्रमका बीच बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालयका स्थायी सचिव म्याथु रिक्रफ्ट र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हस्ताक्षर गरेका छन् ।

यो परियोजनाले तीनवटा महत्वपूर्ण क्षेत्रलाई प्राथमिकतामा राखेको छ । बुटवल सहरको सुद्धृढीकरणका लागि आर्थिक वृद्धिलाई परियोजनाले पहिलो प्राथमिकतामा राखेको छ । त्यस्तै दोस्रो प्राथमिकतामा पूर्वाधार निर्माण र तेस्रो प्राथमिकतामा संस्थागत क्षमता विकासलाई राखिएको छ ।

परियोजनामा हस्ताक्षरपछि बोल्दै डिएफआईडीका स्थायी सचिव म्याथु रिक्रफ्टले परियोजनाको मुख्य लक्ष्य समृद्ध सहर निर्माणको सपना साकार पार्नु रहेको बताए । बुटवललाई उत्थानशील सहर बनाउन प्रभावकारी र सक्षम संस्था पहिलो शर्त भएको भन्दै उनले यसका लागि परियोजनाले काम गर्ने बताए । त्यस्तै वातावरण संरक्षणका लागि हरित क्षेत्र निर्माण, सबैका लागि सेवा प्रवाह, सुरक्षित आवास, खानेपानीको सहज पहुँच, उचित सडक, शिक्षादीक्षाका लागि परियोजना सफल हुने उनले विश्वास व्यक्त गरे ।

त्यस्तै स्थानीय अर्थतन्त्रको समृद्धिका साथै अन्य स्थानीय तह र प्रदेशहरुसँग कनेक्टिभिटीलाई परियोजनाले अगाडि बढाउने उनले बताए । “समृद्ध र समुन्नत सहर कसरी बनाउन सकिन्छ भनेर गहिरो समझदारीका साथ काम गर्ने हाम्रो इच्छा छ”–रिक्रफ्टले भने । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले संस्थागत क्षमता विकाससँगसँगै बुटवलको आर्थिक समृद्धि र मानवीय तथा भौतिक विकासका लागि यो परियोजना कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे । समझदारीपत्रमा हस्ताक्षर गर्न आयोजित समारोहमा डिएफआईडीका स्थायी सचिव रिक्रफ्ट, उपकार्यकारी निर्देशक नथनल बेभवलगायतको टोली सहभागी थियो ।

यो परियोजनाले बुटवल उपमहानगरपालिकाको मानवीय र भौतिक विकासलाई सँगसँगै जोडेर लैजान सहयोग पु¥याउने बुटवल –उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।

कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले परियोजना सफल रुपमा कार्यान्वयन भए बुटवल आर्थिकरुपले समृद्ध हुने भन्दै यसका लागि निजी क्षेत्रको समेत साथ र सहयोग लिएर अघि बढिने बताए ।

 
 
  
 

You may also like