बुटवल उपमहानगरपालिका द्वारा रोजगारसँगै राहत

बुटवल। बुटवल उपमहानगरपालिकाले कोरोना भाईरस संक्रमण रोक्न गरिएको लकडाउनको अवधिमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर तथा विपन्न समुदायलाई राहत वितरण गर्नुका साथै ज्यालादारीका कामको समेत व्यवस्था मिलाएको छ । श्रमजिवी बेरोजगार नागरिकलाई लक्षित गरि दुई चरणमा राहत वितरण गरेको बुटवलले तिनै मध्येका मजदुरलाई सुरक्षा प्रवन्धसहित विभिन्न वडामा जयालादारीका कामको व्यवस्था मिलाएको हो ।

गरिखाने वर्गमा परेको पीडालाई मध्यनजर गरेर सुरक्षा प्रवन्धसहित उनीहरुको स्वास्थ्य चेकजाँच गर्दै ज्यालादारीका काममा लगाइएको हो । वडा नं। १६, १०, ७ र २ मा दैनिक ज्यालादारीमा रोजगारीका काामको व्यस्था मिलाइएको रोजगार संयोजक अरबिन्द्र पाण्डेले बताए । संयोजक पाण्डेका अनुसार वडा नं १६ स्थित निर्माणधिन बैठिलिया तालमा मर्मतकार्य र डुंगा चढ्ने ओर्लने सिंढीको निर्माण भइरहेको छ । त्यहाँ दोस्रो चरणको रोजगार शुरु भएको र सबैलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले तोके अनुसारको ज्याला दिइएको पाण्डेले बताए । यस्तै वडा नं १० को नाली सफाई, वडा नंं ९ मा नाली निर्माण र वडा नं २ मा निर्माणधिन पर्यटन मार्गका लागि ज्यालादारीका मजदुरलाई कामको व्यवस्थ मिलाइएको उपमहानगरले जनाएको छ । यी ठाउँमा काममा खटिएका ७८ जनाको ज्वारोलगायतको स्वास्थ्य परीक्षण गरिएको छ । उनीहरु एउटै गाउँ र टोलका समेत भएकाले सुरक्षा प्रवन्ध मिलाउन सजिलो भएको बताइएको छ ।

अब वडा नं। १६ मा ४० जना, वडा नं। १३ मा ३५ र वडा नं। १४ मा ३५ जनाले थप रोजगार पाउने रोजगार संयोजक पाण्डेले बताए । लकडाउनको अवधिमा बुटवल उपमहानगरले १९ वटै वडाका २२ हजार ७ सय २ घर परिवारका ८५ हजार ७ सय ५४ जनालाई राहत वितरण गरिएको नगरप्रमुख शिवराज सुवेदीले बताए । लकडाउन अवधिमा दुई करोड ४४ लाख २२ हजार १ सय एक रुपैयाँ बराबरको राहत वितरण गरिएको र सुरक्षा प्रवन्ध मिलाएका ठाउँमा ज्यालादारीका कामको समेत व्यवस्था मिलाइएको प्रमुख सुवेदीको भनाइ छ । बुटवल उपमहानगरपालिकाको विपत व्यवस्थापन तथा राहत कोषमा स्वेच्छाले जनस्तरबाट रकम समेत सहयोग भएको नगरपालिकाले जनाएको छ । उक्त रकमलाई बुटवलले राहत वितरण देखि आइसोलेशन, आइसीयु तथा भेन्टिलेटरसहितको अस्पताल निर्माणलगायतका काममा उपयोग गरेको जनाएको छ ।

कोषमा ७४ लाख ७२ हजार ६ सय ४२ रुपैयाँ जम्मा गरिएको तथा ५२ हजार ७ सय ६९ किलो चामल, ३ हजार ६ सय ९ किलो दाल, २ हजार ६ सय २० लिटर तेल, २ हजार ७ सय ३७ किलो नुन लगायत जिन्सी सामग्री सहयोग स्वरुप प्राप्त भएको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए । उनले महामारीका बेलामा कहाँ–कहाँबाट के–के सामान खरिद गरियो, कुन मूल्यमा के–के सामान खरिद गरियो भन्नेदेखि यो बीचमा भएका सबै खर्चको विवरण सार्वजनिक गरिएको बताउँदै सबैलाई वेभसाइटमा पनि राखिने बताए ।

नगरको नीति तथा कार्यक्रममा परेर स्वीकृत भएमध्येका तालिम गोष्ठितर्फको एक करोडभन्दा धेरै रकमलाई उपमहानगरले कोरोना नियन्त्रणमा लगाउने निर्णय गर्दै त्यस्ता सबै कार्यक्रम रोकेको थियो । लकडाउनको स्वरुप परिवर्तन भैरहेको वर्तमान अवस्थामा राहतभन्दा पनि नगरबासीलाई विकासको काममा रोजगार दिने लक्ष्य लिएर अहिले सोही अनुरुपका काम भइरहेको उपमहानगरका प्रवक्ता तथा पूर्वाधार विकास समितिका संयोजक रामप्रसाद रेग्मीले बताए ।

 
 
  
 

You may also like