सैनामैना नगरपालिकामा सम्पन्न दुई छुट्टाछुट्टै रक्तदान कार्यक्रमबाट १२५ युनिट रगत संकलन

  • शिब अधिकारी

सैनामैना । रुपन्देहीको सैनामैनामा रहेका दुई छुट्टाछुट्टै क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । देशभरका स्वास्थ्य संस्था तथा रक्त बैँकमा रगतको अभाव भैरहेको समयमा सैनामैनामा रहेका क्लबले रक्तदान कार्यक्रम सम्पन्न गरेको हुन् ।

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड – १९ को प्रकोपका कारण देश नै लकडाउनमा रहेका बेला कुनै पनि किसिमको कार्यक्रमहरु नर्गन सरकारले निर्देशन गरेपछि रक्तदान जस्ता अत्यावश्यक कार्यक्रमहरु पनि कमै मात्रामा हुने गरेपछि रगतको अभाव हुन थालेको थियो ।
महामारीको समयमा रगत नपाएर कसैले ज्यान गुमाउन नपरोस भन्दै पछिल्लो समयमा कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम भने हुँदै आएका छन् ।
यस्तैमा आईतबार सैनामैनामा रहेका दुधराक्ष युवा क्लब तथा सुनौलो बुद्ध युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । दुधराक्ष युवा क्लबले सैनामैना–६,कलौनीमा रहेको कालमोचन शिवालय मन्दिरमा कार्यक्रम सम्पन्न गरेको थियो ।
उक्त रक्तदान कार्यक्रमबाट दुधराक्ष युवा क्लबले ७३ युनिट रगत संकलन गरेको कार्यक्रम संयोजक अम्मर लम्सालले बताउनुभएको छ ।
त्यस्तै , आजै सैनामैनाको बुद्धनगरमा रहेको सुनौलो बुद्ध युवा क्लबले पनि रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सैनामैना नगरपालिकाको कार्यलय प्राङ्गढमा सम्पन्न भएको कार्यक्रमबाट ५२ युनिट रगत संकलन भएको क्लबका अध्यक्ष राजेन्द्र घिमिरेले बताउनुभएको छ ।
यो सँगै सैनामैना नगरपालिकामा आज सम्पन्न दुई छुट्टाछुट्टै रक्तदान कार्यक्रमबाट १२५ युनिट रगत संकलन भएको हो ।

 
 
  
 

You may also like