अमेरिका कोरोनाबाट विश्वमै सबैभन्दा पीडित : मृतक ३७ हजार बढी, संक्रमित सात लाख

  • अफ्रिका अबको इपिसेन्टर बन्न सक्ने डब्लुएचओको चेतावनी

काठमाडौं। विश्वव्यापी कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको दर झन बढेको छ । कोरोनाबाट विश्वमै सबैभन्दा पीडित भइरहेको अमेरिकामा यसको संक्रमणका कारण ३७ हजार जना बढीको मृत्यु ज्यान गइसकेको छ भने संक्रमितको संख्या ७ लाख नाघेको छ ।

ाति अबेर वल्ड्रोमिटरले जारी गरेको तथ्याङ्कअनुसार विश्वभर संक्रमित हुनेहरुको संख्या २२ लाख १९ हजार २६७ पुगेको छ भने मृत्यु हुनेहरुको संख्या एक लाख ५२ हजार १०३ पुगेको छ ।

आज (शनिबार) बिहान सवा ६ बजेसम्म वर्ल्डओमिटरको तथ्याङ्कअनुसार अमेरिकामा कोरोनाबाट ३७ हजार १३५ जनाको मृत्यु भइसकेको छ । यसैगरी यो भाइरसको संक्रमणमा पर्नेको संख्या ७ लाख ९ हजार २०१ पुगेको छ ।

अमेरिकापछि कोरोना संक्रमणबाट विश्वमै सबैभन्दा बढी इटली र स्पेन आक्रान्त छन् । इटलीमा कोरोनाका कारण आज विहानसम्ममा २२ हजार ७४५ जनाको मृत्यु भएको छ भने स्पेनमा २० हजार दुई जनाको मृत्यु भएको छ । यस्तै कोरोना संक्रमितको संख्या स्पेनमा एक लाख ९० हजार ८३९ र इटलीमा एक लाख ७२ हजार ४३४ पुगेको छ ।

अफ्रिका अबको इपिसेन्टर बन्न सक्ने डब्लुएचओको चेतावनी
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको विश्वव्यापी महामारीको अबको इपिसेन्टर अफ्रिका बन्न सक्ने चेतावनी दिएको छ ।

यो महामारीबाट अफ्रिकामा कम्तिमा तीन लाख व्यक्तिको मृत्यु हुनसक्ने संयुक्त राष्ट्रसंघका अधिकारीहरुको आशंका छ । उक्त क्षेत्रका तीन करोड मानिस कोरोनाकै कारण गरिबीको रेखामुनि पुग्ने अनुमान पनि राष्ट्रसंघको छ ।

कोभिड–१९ बाट अफ्रिकामा एक हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १९ हजारभन्दा बढीमा संक्रमित छन् । तर अहिलेसम्मको संक्रमण दर भने युरोप र अमेरिकामा भन्दा कम रहेको बताइएको छ ।

राष्ट्रसंघीय अफ्रिकी आर्थिक कमिसनले तीन लाख व्यक्तिको मृत्यु हुन सक्ने चेतावनी दिँदै महामारी नियन्त्रणका लागि एक खर्ब अमेरिकी डलर बराबरको बजेट चाहिने उल्लेख गरेको छ ।

संक्रमण अफ्रिकाका राजधानीभन्दा बाहिर फैलिने सम्भावना बढ्दै गएको र यस्तो भए अवस्था भयावह हुने डब्लुएचओको चेतावनी छ । अफ्रिकी देशहरुमा भेन्टिलेटरको अभाव रहेको जनाइएको छ ।

अफ्रिकाका एक तिहाई मानिस पानीको पर्याप्त पहुँचमा छैनन् भने शहरी क्षेत्रका करिब ६० प्रतिशत मानिस घना सुकुम्बासी क्षेत्रमा बस्छन् । एक अर्ब ३० करोड मानिस बस्ने अफ्रिकाको उत्तरी क्षेत्र बढी प्रभावित छ । अल्जेरिया, इजिप्ट र मोरक्कोमा दुई हजार भन्दा बढी संक्रमित छन् । यद्यपि, धेरै देशले लकडाउन गरेका छन् ।

कोरोनाबाट अमेरिकामाभन्दा चीनमा धेरैको मृत्यु भएको ट्रम्पको दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा भन्दा चीनमा बढी मृत्यु भएको दाबी गरेका छन् ।

ट्रम्पले शुक्रबार ट्वीटमा लेखेका छन्, ‘यस अज्ञात शत्रुबाट हुने मृत्युको तथ्याङ्क चीनले अचानक बढाएर दोब्बर गरायो । तर मृत्युको संख्या अमेरिकाको भन्दा पनि धेरै छ ।’

चीनले हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्या सार्वजनिक गरेलगत्तै ट्रम्पले यस्तो दाबी गरेका हुन् । अमेरिकाले शुरुदेखि नै चीनले कोरोनाबाट मानवीय क्षतिको वास्तविकता लुकाएको भन्दै आएको छ । डब्ल्यूएचओ समेत चीनको पक्षमा लागेको ट्रम्पको आरोप छ ।

चीनले शुक्रबार हुेबई प्रान्तको वुहानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संशोधित संख्या भन्दै एक हजार २९० जना मृतक थपिएको जनाएको थियो । पछिल्लो तथ्याङ्क अनुसार अब हुबेईमा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय ६९ तथा चीनभरमा ४ हजार ६०० पुगेको छ । चिनियाँ अधिकारीहरुले भने यसअघि फेला नपरेका र गणनामा छुटेका १२ सय ९० जना भेटिएको जनाएका छन् ।

 
 
  
 

You may also like