चामल किन्न अनिवार्य वडाको सिफारिस, सप्लायर्सले ढुवानी नगर्दा चामल अभाव

जाजरकोट। खाद्यान्न ढुवानीको जिम्मा लिएको सप्लायर्सले ढुवानी नगर्दा बारेकोट गाउँपालिकामा खाद्य अभाव भएको छ ।खाद्य ढुवानीको जिम्मा लिएका एनबी विल्डर्स सप्लार्सका मानबहादुर खड्काले जिल्ला प्रशासन कार्यालय जाजरकोटमा माघ २१ गते दुई हजार ४०० क्विन्टल चामल बोक्ने भनी लिखित कागज गरे पनि सहमतिअनुसार काम नगर्दा खाद्यान्न अभाव भएको हो ।

लकडाउनका कारण निजी क्षेत्रबाट चामल ढुवानी कार्य रोकिएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको घाट डिपोमा चामल लिनका लागि दैनिक भीड हुने गरेको हो । स्थानीयवासीले चामल नपाउँदा रित्तो हात फर्कनु परेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सप्लायर्सले चैत मसान्तसम्म दुई हजार ४०० क्विन्टल चामल ढुवानी गर्नुपर्नेमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको रोहवरमा गरे पनि सो सहमति लत्याएपछि समस्या भएको हो । अहिलेसम्म सप्लायर्सले एक हजार ७१ क्विन्टल चामल मात्र ढुवानी गरेको लिमिटेडका प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिए ।

बारेकोट गाउँपालिका–५ घाटस्थित लिमिटेडको डिपोमा दुई हजार ५०० क्विन्टल चामल स्वीकृत कोटा भए पनि ठेकेदारले ढुवानी नगर्दा समस्या भएको हो । व्यापार कम्पनी लिमिटेडले जिल्ला कार्यालयले आफै ३५० क्विन्टल चामल ढुवानी गरेको प्रमुख बस्नेतले बताए । उनले भने, ‘ठेकेदारले चामल बोकेनन्, मन्त्रीज्यूले छिटो चामल पठाउन आग्रह गर्नुभयो, त्यसैले हामीले आफँ ढुवानी गरेर चामल पठाएका छौं ।’

कार्यालय र ठेकेदारले गरी स्वीकृत कोटाबाटै अहिलेसम्म एक हजार ४१६ क्विन्टल चामल मात्र ढुवानी गरेका छन् । विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि खाद्यान्न ढुवानीमा भएको ढिलाइका बारेमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चासो लिएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिए । उनले थपे, ‘जसरी हुन्छ छिटो चामल ढुवानी गर्न निर्देशन आएको छ र तोकिएको कोटाभन्दा थप कोटा चामल पठाउने काम गर्नु भनेर समेत निर्देशन आएको छ ।’

यता बारेकोट गाउँपालिकाले व्यापार कम्पनी लिमिटेडबाट चामल लिनका लागि वडा कार्यालयको सिफारिस अनिवार्य बनाएको छ । चामल लिन आउने स्थानीयवासीले भीडभाड गरेका कारण वडाको सिफारिसका आधारमा मात्र खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए ।

अहिले भएको कोटामा थप एक हजार क्विन्टल चामल थप गरी ढुवानीको काम समेत गर्न लागिएको उनको भनाइ छ । वडा नं १ मा आइतबार, वडा २ र ३ मा सोमबार, वडा नं ४ मा मङ्गलबार, ४ र ६ मा बुधबार र वडा ७ र ८ मा बिहीबार र वडा ९ मा शुक्रबार खाद्यान्न उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।

चामल लिनका लागि सम्बन्धित वडा कार्यालयमा गएर सिफारिस लिइ कम्पनीको डिपोमा जानुपर्ने छ । टाठाबाठाले मात्र बढी चामल लिने र गरिबको हातमा चामल नपर्ने भएकाले यो कार्य गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ ।

त्यस्तै नलगाड नगरपालिकाको दल्लीमा समेत चामल पठाउन लागिएको छ । दुई दिनभित्र चामल ढुवानीको कार्य सुरु हुने कम्पनीले जनाएको छ । त्यस्तै जुनिचाँदे गाउँपालिकाको ताँगा बिक्री केन्द्रमा ३४० क्विन्टल चामल पठाउन लागिएको प्रमुख बस्नेतले बताए ।

आफ्नै उत्पादनले छ महिनासम्म खाना नपुग्ने यहाँका स्थानीयवासी अहिले समस्यमा परेका छन् । दैनिक ज्यालादारी गरी सोही रकमबाट खाद्यान्नको जोहो गरी छाक टार्ने सबैभन्दा बढी मारमा परेका छन् ।

निजी क्षेत्रबाट खाद्यान्न ढुवानीको काम ठप्प हुँदा गाउँगाउँमा खाद्यान्न सङ्कट परेको हो । नयाँ बाली गहुँ पाकेको छैन, पुरानो बाली सकिएपछि सर्वसाधारण समस्यामा परेका छन् । कम्पनीका डिपोहरु जनताको पहुँचमा नहुँदा सर्वसाधारण आफूले चाहेको ठाउँबाट खरिद गर्न नपाएको बताएका छन् । ढुवानीका लागि यातायात सेवा बन्द हुनु अर्को समस्या हो ।

 

 
 
  
 

You may also like