विश्व स्वास्थ्य संगठनसँग ट्रम्प रुष्ट, चीन केन्द्रित भएको भन्दै अनुदान रोक्ने धम्की

वासिङ्गटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको सहयोग रोक्ने धम्की दिएका छन् ।

कोरोना भाइरस महामारीको बीचमा उनले डब्ल्यूएचओ चीनको पक्षपाती भएको आरोप लगाए । ‘यसले सहयोग हामीबाट लिन्छ, तर हामीले लगाएको यात्रा प्रतिबन्धबाट असहमति जनाउँछ । यो कयौं विषयबारे गलत थियो ।’ उनले संगठनलाई अमेरिकाले गर्दै आएको सहयोग रोक्ने पनि बताए ।

तर, ट्रम्पले एक मिनेट नबित्दै आफ्नो भाषण संशोधन गरे । उनले यसअघि मार्चमा पनि कोरोनाको सम्बन्धमा चीनलाई लिएर संगठनको रवैया पक्षपातपूर्ण रहेको बताएका थिए । यसबाट धेरै मानिसहरुले नराम्रो मानिरहेको उनको तर्क रहेको थियो ।

Dish_Home
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस गेब्रेससले २३ जनवरीमा जेनेभमा कोरोनालाई लिएर एक आपतकालीन बैठक बोलाएका थिए । त्यहाँ ट्रम्पले चीनमाथि यात्रा र व्यापारमा प्रतिबन्ध लगाउने प्रस्ताव राखेका थिए । त्यतिबेला चीनमा केवल ६०० मानिसमा मात्रै संक्रमण थियो र १७ जना मारिएका थिए ।

लगत्तै कोरोना भाइरस अमेरिका, जापान, दक्षिण कोरिया, सिंगापुर, थाइल्याण्ड र साउदी अरबमा फैलिएको थियो । फेब्रुअरी २ मा अमेरिकाले चीनबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको थियो र चीनबाट आएका अमेरिकी नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइन अनिवार्य गरेको थियो ।

कोरोनाबाट संसारभर संक्रमित हुनेको संख्या १४,३२,३६१ पुगेको छ भने मृत्यू हुनेको संख्या ८२,११४ पुगेको वर्ल्डोमिटरले जनाएको छ । अहिलेसम्म केवल ३,०२,२८८ जना निको भएर घर फर्किएका छन् ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यू हुनेको संख्या १२ हजार ८५७ पुगेको छ भने चार लाखभन्दा बढी मानिसमा संक्रमण भेटिएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्र दुई हजार मानिसको मृत्यू भएको छ ।

 
 
  
 

You may also like