एमसीसीमा पनि कोरोना प्रभाव

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरस (कोभिड–१९) का कारण मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता बहस अर्कोतिर ढल्किएको बताएका छन् ।

संसदीय पत्रकारहरूसँग सोमबार अन्तरक्रिया गर्दै उनले भने, ‘एमसीसी बहसमै छ, कोरोनाका कारण अर्कोतिर ढल्किएको छ ।’

एमसीसी सम्झौताबारे सत्तारूढ नेकपाकै आन्तरिक किचलोका कारण संसद्बाट अनुमोदन हुन सकेको छैन । नेकपाभित्र सहमति भएपछि मात्र संसद्ले आफ्नो काम अगाडि बढाउने सापकोटाले बताए । सरकारले एमसीसी सम्झौता अनुमोदनका लागि २०७५ असार ३० मा संसद्मा दर्ता गराएको थियो ।

‘एमसीसी सम्झौताका विषयमा नेकपाभित्र बहस भइरहेको छ । प्रतिपक्षी दलका नेताहरूसँग पनि छलफल भइरहेको छ’, उनले भने, ‘उहाँहरूमा एकमत देखिएपछि एमसीसी संसद्को एजेन्डा बन्छ ।’

यसअघि सत्तारूढ नेकपाले एमसीसी सम्झौताका विषयमा अध्ययनका लागि पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको एउटा कार्यदल बनाइएको थियो। कार्यदलले एमसीसीका विषयमा प्रतिवेदन समेत तयार पारेर दुवै अध्यक्षलाई बुझाइसकेको छ ।

सभामुख सापकोटाले नागरिकता विधेयक र निजामती विधेयकका विषयमा आफू गम्भीर रहेको प्रस्ट पारे । दुवै विधेयक प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा अड्किएका छन् । अन्नपूर्ण पोष्टबाट

 
 
  
 

You may also like