आज मेघ गर्जनसहित बर्षा र हिमपातको सम्भावना

काठमाडौं। आज (आइतबार) देशका पहाडी भेगमा मेघ गर्जनसहित वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् ।

आज अपराह्नपछि पहाडी भेगका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना देखिएको हो । यस्तै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिउँ पर्ने सम्भावना छ रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले बताएकी छन् ।

तर पश्चिमी भेगका भने पहाड तथा तराई सबै स्थानमा आज वर्षाको सम्भावना देखिएको मौसमविद् शाक्यले जानकारी दिएकस् छन् । ‘पश्चिम तराईको कैलालीमा हिजो (शनिबार) राति पनि पानी परेको थियो,’ उनले भनिन्, ‘अहिले रोकिएको हुन सक्छ तर, मौसम भने बदलीकै अवस्था छ ।’

यस्तै काठमाडौं उपत्यकामा पनि अपराह्नपछि मौसम बदली भई फाट्टफुट्ट वर्षाको सम्भावना छ । तर यो सम्भावना एकदम कम रहेको र वर्षा भए पनि सबैतिर नभएर कतै कतै हुने मौसमविद् शाक्यको अनुमान छ ।

आज बिहान पौने ६ बजेको रेकर्डअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस छ भने आज अधिकतम २५ डिग्रीसम्म पुग्ने अनुमान गरिएको मौसमविद् शाक्यले बताएकी छन् ।

 

 
 
  
 

You may also like