रविका समर्थकले प्रहरी भ्यान फोडे, भीड हटाउन अश्रु ग्यास प्रहार

by समतल अनलाइन

चितवन– टेलिभिजन पत्रकार रवि लामिछानेको समर्थक र प्रहरीबीच झडप भएको छ ।

चितवनको भरतपुरस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएका लामिछानेको समर्थकले शनिवार विहान प्रहरीको भ्यानमा ढुंगामुढा गरेका छन् । ढुंगामुढाका कारण प्रहरीको भ्यानमा क्षति पुगेको छ ।

प्रदर्शनकारीले प्रहरीको भ्यानमा तोडफोड गरेपछि प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेको थियो । त्यसक्रममा भीडलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रु ग्याससमेत प्रहार गरेको थियो ।

अहिले पनि चितवनमा नाराबाजी र आन्दोलन जारी रहेको छ ।

न्यूज २४ का पूर्व सहकर्मी पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै लामिछानेसहित तीन जना चितवन प्रहरीको हिरासतमा रहेका छन् ।

आत्महत्या अघि खिचिएको भनिएको एक भिडियो सार्वजनिक भएको थियो । जसमा पुडासैनीले आफ्नो मृत्युको कारण पत्रकार लामिछानेसहित तीन जना रहेको बताएका थिए ।

भिडियो सार्वजनिक भएसँगै प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
शुक्रवार(हिजो) प्रहरीले उनीहरु तीनै जनालाई अदालतमा पेश गरेको थियो ।

अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । यससँगै लामिछानेका समर्थकले जिल्ला प्रहरी कार्यालय चितवनमा प्रदर्शन गरेका थिए ।

शुक्रवार भएको प्रदर्शनमा पाँच प्रहरी र केही प्रदर्शनकारी घाइते भइका थिए ।

 
 
  
 

You may also like