कुवेतमा मृत्यु हुने ६ जनामध्ये चारको सनाखत, को कहाँका ?

by समतल अनलाइन

काठमाडौं। कुवेतको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा बालुवा र ग्राभेलको ढिस्कोले पुरिँदा ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ । ढिस्कोले पुरिँदा चार जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने दुई जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

ज्यान गुमाउने ६ जना नेपाली कामदारहरुमध्ये पहिचान खुलेका चार नेपालीहरुमा पाल्पाका एकबहादुर गाहा, सिराहाका गंगाराम चौधरी, ताप्लेजुङका बसन्त गुरुङ र दाङका श्याम नारायण चौधरी रहेका छन् । भने बाँकी दुई जना मृतकको स्पष्ट विवरण आउने क्रममा रहेको कवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यसैगरी, घाइते मध्ये धर्मेन्द्र कुमार शाहको कुवेतस्थित जाहरा अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते मनोरथ मण्डल भने उपचारपश्चात कम्पनी फर्किएका दूतावासले जानकारी दिएको छ ।

ज्यान गुमाएका नेपालीहरु त्यहाँको चिनियाँ कम्पनीमा कार्यरत थिए । ब्लक १, एन फाइभमा काम गर्ने क्रममा उनीहरुमाथि बालुवा र ग्राभल खसेको थियो । घटनालगत्तै त्यहाँ २० वटा एम्बुलेन्स तथा जहरा फायर स्टेसन र टेक्निल रेस्क्यु सेन्टरका उद्धारकर्ता पुगेर तत्कालै उद्धारको काम सुरु गरेका थिए ।

घटनास्थलबाट सात जनाको उद्धार गरिएको थियो । जसमा ४ जनाको मृत्यु भएको थियो । अन्य तीन जनालाई तत्कालै जहरा अस्पताल लगिएको थियो । एजेन्सी

 
 
  
 

You may also like