दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टि

by समतल अनलाइन

दैलेख । दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको छ । विगत चार महिनादेखि सुरु गरिएको अन्वेषणले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ ।

परियोजनाका प्रमुख सुधीर रजौरेले पेट्रोलियम अन्वेषण तथा प्रवर्धन परियोजनाले पछिल्लो समय गरेका भौगर्भिक तथा अन्वेषणको परिणामले यस क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको सुनिश्चित भएको जानकारी दिए ।

उनले भने, ‘दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र निरन्तर बलिरहेको ग्यासले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको सम्भावना यसअघि नै प्रबल थियो तर अहिले भइरहेको अध्ययन र अन्वेषणले सो सम्भावनालाई सुनिश्चितता प्रदान गरेको छ ।’

अहिलेको अध्ययनका क्रममा सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको केही वैज्ञानिक प्रमाण (इभिडेन्सेज) र आधारहरू फेला परे पनि राष्ट्रिय हित र गोपनीयताका कारण त्यसलाई सार्वजनिक गर्न नमिल्ने उनले स्पष्ट पारे ।

‘अहिले भइरहेको अध्ययन परिणामले नेपालको क्षेत्रमा पेट्रोलियम पदार्थ छ भन्ने आधारलाई सुनिश्चितता प्रदान गरेको छ, पेट्रोलियम पदार्थ छ छैन भने द्विविधाको अन्त्य भएको छ’, उनले भने, ‘दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेकोमा अब कुनै शङ्का गर्ने ठाउँ रहेनन्, अबको खोज, अध्ययन र अनुसन्धान पेट्रोलियम पदार्थको परिमाण र क्षेत्रका लागि मात्र हो ।’ अहिलेसम्मको परिणामले यस क्षेत्रमा थप काम गर्न उत्साहित बनाएको उनले बताए ।

पेट्रोलियम पदार्थको क्षेत्र र परिमाणबारे थाहा पाउन ‘ड्रिलिङ’ गर्ने उपयुक्त ठाउँको खोजीका लागि अहिले ‘साइस्मिक सर्वे’ र ‘म्याग्नेटु टेलिक सर्वे’ भइरहेको बताउँदै उनले अहिलेसम्म ‘साइस्मिक सर्वे’ को काम ७० प्रतिशत र ‘म्याग्नेटु टेलिक सर्वे’ को काम शतप्रतिशत सम्पन्न भइसकेको जानकारी दिए । अबको तीन हप्तामा ‘साइस्मिक सर्वे’ को काम पनि सम्पन्न हुने उनले बताए । गोरखापत्र दैनिकबाट

 

 
 
  
 

You may also like