कर्णालीका हिमाली जिल्लाहरुमा हिमपात

by समतल अनलाइन

कर्णाली । कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएको छ । कर्णालीका हिमाली जिल्लाहरू हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटमा सोमबार (९ माघ) रातिदेखि नै हिमपात भएको हो ।

हिमपातका कारण अत्यधिक चिसो बढेपछि सर्वसाधारणलाई कष्टप्रद बनेको छ । ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र ट्युसन पढ्ने विद्यार्थी चिसोबाट बढी प्रभावित भएका छन् । किसान भने हिमपातपछि उत्साहित भएका छन् ।

यो वर्ष जुम्लामा पहिलाे पटक हिमपात भएको हो । यो हिउँले हिउँदे बालीलाई राम्रो गर्ने किसानहरूले बताएका छन् । हिउँदेबाली सप्रिन र उत्पादन वृद्धिका लागि कर्णालीमा पुस, माघमा हिमपात आवश्यक रहेको किसानहरू बताउँछन् । हिमपातसँगै बढेको चिसोले हिँडडुल गर्न र पशुचौपायालाई दानापानी दिन भने समस्या भएको छ ।

यसअघि हुम्लाको सिमकोटमा गत ६ माघमा पनि अत्यधिक हिउँ परेको थियो । विगत वर्षमा पुस लाग्ने बित्तिकै रारा हिउँले सेताम्य हुने गथ्र्यो तर यो पटक माघ लागेपछि हिमपात हुँदा रारा कपासझैं सेताम्य देखिएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

ठूलो वर्षा नभइ रातिबाट रारामा एक्कासी हिमपात भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर जयहरि धितालले जानकारी दिएका छन् । रारामा ५ इन्चभन्दा बढी हिउँ जमिसकेको र अझै आउने क्रम जारी रहेको उनले बताएका छन् ।
रारामा हिमपात भएपछि घुम्न गएका पर्यटक निकुञ्जका कर्मचारी, नेपाली सेनाका जवानहरु हिउँमा रमाउन थालेका छन् । रारा विमानस्थल ताल्च, मुर्मा गाउँ, कोटिला, झयारी, ताल्च, माथितुम, बाम, सोभा लगायत बस्तीमा पनि हिमपात भएको छ ।

माघ ६ गते सोरुकोट, माथिल्लो मुगु क्षेत्रमा हल्का हिमपात भएको थियो भने यो पटक रारा क्षेत्र लगायत स्थानमा हिमपात भएको छ । माथिल्लो लेकली क्षेत्रमा हिमपात भएको छ भने बेसीतर्फ झरी परिरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत असोज १९ गतेदेखि वर्षात नभएको मुगुमा माघ लागेपछि हिमपात वर्षा सुरु हुँदा किसानहरु उत्साहित भएका छन् ।

हुम्ला सिमकोट क्षेत्रमा पनि फेरि दोस्रो पटक हिमपात भएको छ । माघ ६ गते हुम्लामा पहिलो पटक हिमपात भएको थियो भने सोमबार रातिबाट हुम्लाको माथिल्लो क्षेत्र सिमकोट, बरगाउँ, बुराउसे, डाडाफया र नाम्खा गाउँपालिका क्षेत्रमा भारी हिमपात भएको छ । खसभाषाको उदगमस्थल जुम्ला सिंजा क्षेत्रको कनका सुन्दरी गाउँपालिकाको क्षेत्रमा पनि रातिदेखि हिमपात भएको छ ।

 
 
  
 

You may also like