कर्णालीमा ९१ प्रतिशत कोरोना संक्रमित निको

कर्णाली। कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमण जितेर घर फर्कनेको संख्या १२४ छ ।

कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पीसीआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७३५ जनामा सङ्क्रमण पुष्टि भएको विज्ञप्ति स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले सार्वजनिक गरेको छ । कूल सङ्क्रमितमा २५ हजार १२९ अर्थात् (९१ प्रतिशत)ले कोरोना जितेर घर फर्किएको निमित्त निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

‘पछिल्लो दुई सातायता कोरोना सङ्क्रमण दर ओरालो लागेको छ । अहिले सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढ्दै गएको छ’, निर्देशक डा. खड्काले भने, ‘नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण गत वैशाख १० गतेयता बढेको त्रासदी पनि कम हुँदै गएको छ । यसले सङ्क्रमण जित्नेको आत्मबल बढेको पाएका छौं ।’

आइसोलेशनमा बस्ने दुई हजार सङ्क्रमितको संख्या घटेर एक हजार २३० मा पुगेको उनले बताए । उनका अनुसार मृत्युको संख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना पुष्टि भएको र सङ्क्रमणबाट तीन व्यक्तिको मृत्यु भएसँगै हालसम्म यो प्रदेशमा ३०७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

कोरोना महामारीबाट यो प्रदेशमा सबैभन्दा ठूलो क्षति सुर्खेतलाई पुगेको छ । सुर्खेतमा हालसम्म १७७, सल्यानमा ५०, रुकुमपश्चिममा २९, दैलेखमा २२ र जुम्लामा आठ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । रासस

 
 
  
 

You may also like