दाइजोमा कामदार, साला-भिनाजुबाटै बलात्कार

by समतल अनलाइन

पाँच हजार बालबालिका घरेलु मजदुर
काठमाडौं। पूर्व सचिव कार्कीको घरमा भएको जघन्य अपराधमा संलग्नप्रति सहानुभूति देखाउन सकिँदैन, तर, गैरकानुनी रूपमा बालबालिकालाई घरेलु मजदुर राख्ने मालिकले कुटपिट मात्र होइन, श्रम शोषण र यौन उत्पीडन गरेका अनेक घटना प्रहरीमा छन् :
घटना १
दाइजोमा कामदार : साला–भिनाजुबाटै बलात्कार
ललितपुर सातदोबाटोका भरत कार्कीको मोरङकी युवतीसँग विवाह भयो । ससुराली खानदानी थिए, घरेलु कामदारका रूपमा १४ वर्षीया बालिका पनि दाइजोमा दिए । सातदोबाटोको आलिसान महलमा भरत, उनीकी पत्नी र सालो उमेश खत्री बस्थे । बालिकालाई स्थानीय सामुदायिक विद्यालयमा भर्ना गरिएको थियो । बिहान–बेलुका घरको सबै काम गर्थिन् । बस्नका लागि छुट्टै कोठा थियो ।

ललितपुर आएको ६ महिनासम्म सबै ठिकै थियो, त्यसपछि भने बालिकामाथि २४ वर्षीय उमेशको कुदृष्टि पर्‍यो । राति सबै निदाएपछि बालिकाको कोठामा पसेर दुव्र्यवहार गर्न थाले । सुरु–सुरुमा बालिका चिच्याउने डरले संवेदनशील अङ्गमा छुने, चलाउने गर्थे । पछि त मुख थुनेर बलात्कार नै गर्न थाले । उनको यो ज्यादती करिब डेढ वर्षसम्म चल्यो ।

यो घटना थाहा पाएपछि भरतले पनि बालिकालाई यौन शोषण गर्न थाले । दुई वर्षअघि बालिकाले स्कुलका साथीहरूलाई पीडा सुनाएपछि यो घटना बाहिर आयो । बालअधिकारसम्बन्धी काम गर्ने संस्था सिविसको पहलमा प्रहरीले साला–भिना दुवैलाई पक्राउ गरेर मुद्दा चलायो । अदालतले उनीहरूलाई ६–६ वर्ष कैद र २५–२५ हजार जरिवानाको सजाय सुनाएको छ ।

घटना २
प्रेमिकाको फ्ल्याटमा गएर कामदार बालिका बलात्कार
काठमाडौंको बुद्धनगरमा डेरा बस्ने रीता (नाम परिवर्तन) ले घरेलु कामदारका रूपमा कैलालीकी १३ वर्षीया बालिकालाई ल्याइन् । श्रीमानसँग छुट्टिएर एक्लै बस्ने रीताकी तीन वर्षकी छोरी थिइन् । बालिकाको काम छोरी स्याहार्ने थियो ।

नजिकैको सामुदायिक विद्यालयमा भर्ना पनि गरिदिएकी थिइन् । फुर्सदमा बालिका पढ्न जान्थिन् । रीताको फ्ल्याटमा सेनाका तत्कालीन मेजर प्रभावविक्रम शाह आउजाउ गर्थे । दिउँसो आएको वेला फर्किन्थे, राति आउँदा त्यहीँ बस्थे । रीताले बालिका सुत्ने व्यवस्था आफ्नै कोठामा गरेकी थिइन् ।

मेजर आउँदा भने बालिका भान्सा सुत्न जान्थिन् । राति रीता निदाएपछि मेजर सुटुक्क भान्सामा गएर बालिकालाई जबरजस्ति गर्न खोज्थे । बालिका चिच्याउन खोज्दा मुख थुनिदिन्थे । मेजरबाट यो कार्य नियमित हुनथाल्यो । पछिल्ला दिनमा त रीताकै सामुन्ने पनि बालिकालाई दुव्र्यवहार गर्न थाले । रीता भने देखेको नदेखेझै गर्न थालिन् । बालिकासँग पीडा सहनुको बिकल्प थिएन । ०७५ पुसमा बालिकाले स्कुलमा साथीहरूलाई पीडा सुनाएपछि घटना बाहिर आयो । प्रहरीले मेजरलाई पक्राउ गरी मुद्दा चलायो । अदालतले उनलाई कारागार चलान गरेको छ ।

घटना ३
अभिभावकलाई भेट्न नदिएर बालिकालाई बलात्कार
रेडियो नेपालका पूर्व कर्मचारी रमेशजंग कार्कीले हेटौडाको विपन्न परिवारकी १२ बर्षीय बालिकालाई काठमाडौं ल्याएर घरेलु कामदार बनाए । तीन बर्षसम्म बालिकालाई अभिभावकसँग भेट्न समेत दिएनन् । जागिरबाट अवकास पाइसकेका कार्की प्रायः घरमै रहन्थे ।

दिउँसो उनकी पत्नी बाहिर निस्कन्थिन् । त्यही मौका छोपेर कार्की बालिकालाई बलात्कार गर्थे । अति भएपछि बालिकाले एक बर्षअघि स्कुलका साथीहरूलाई पीडा सुनाइन् । प्रहरीले कार्कीलाई पक्राउ गरी अनुसन्धान गर्दा झण्डै एक बर्षसम्म उनले बालिकालाई नियमित बलात्कार गरेको खुल्यो । अदालतले उनलाई दश दिन कैद, १० हजार जरिवाना र २५ हजार क्षतिपुर्तीको सजाय सुनायो ।

घटना ४
अभिभावकलाई भेट्न नदिएर बालिकालाई बलात्कार
काठमाडौंको बसुन्धारा निवासी सुमित मैनालीले दोलखा भिमेश्वर नगरपालिका–१ सुस्पा क्षमावतीकी २१ बर्षीय सुनिता थामीलाई चार बर्षदेखि घरेलु कामदारका रूपमा राखेका थिए । सुनिताको कामबाट मैनाली परिवार सन्तुष्ट नै थियो । गत ११ जेठको बिहान सुमित घरबाट मर्निङ वाकमा निस्किए । परिवारका अन्य सदस्य घरमै थिए ।

निक्कै बेरसम्म नदेखिएपछि सुनिताको खोजी भयो । सुमितकी श्रीमति कौशीमा पुग्दा पानी ट्यांकीको रडमा सुनिता झुण्डिएको अवस्थामा देखिन । शिक्षण अस्पतालमा पोष्टमार्टम गर्दा आत्महत्या भएको रिपोर्ट आयो । सुमितले सुनिताको परिवारलाई १५ लाख क्षतिपूर्ति दिएपछि घटना मिलापत्रमा टुंगिएको छ । तर, उनले आत्महत्या किन गरिन्, रहस्य अझै खुल्न सकेको छैन ।
०००
घरेलु मजदुरमाथि भएका दुव्र्यवहार र हिंसाका यि प्रतिनीधि घटना मात्रै हुन् । राष्ट्रिय बालअधिकार परिषद्को तथ्यांकअनुसार आर्थिक बर्ष ०७५र७६ मा मात्रै बालबालिकामाथि एक हजार ८ हिंसाका घटना भए । त्यसमध्ये एक सय १२ घटना घरेलु मजदुरमाथि भएका हिंसाका छन् । ६ बालिका त मालिकबाटै बलात्कृत भए । यो तथ्यांक सञ्चार माध्याममा आएका ठूला घटनालाई समेटेर मात्रै तयार पारिएकाले घरेलु कामदारमाथि हुने हिंसाका घट्ना अझ धेरै छन् ।

‘शहरका प्रत्येक पाँच घरमध्ये एकमा घरेलु मजदुर छन् । त्यसमा पनि अधिकांश बालमजदुर छन् । उनीहरू माथि कुनै न कुनै खालका हिंसा हुने गर्छ । हामीले अध्ययन गरेको त संचार माध्यममा आएका ठूला घट्ना मात्रै हुन् । त्यसैले घरेलु कामदारको संख्या र उनीहरूमाथि हुने हिंसाका घटनाको संख्या अझ धेरै छन्,’ परिषद्का प्रशासकीय अधिकृत कृष्ण भुसालले भने । उनका अनुसार महिला कामदारमाथि यौन हिंसाका घटना धेरै भएका छन् ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार देशभर ५५ हजार ६५५ बालबालिका घरेलु मजदुर छन । जबकि, कानुनले बालश्रम निषेध गरेको छ । बाल श्रम निषेधित र नियमित गर्ने ऐन–०५६ ले १४ देखि १८ बर्षसम्मका बालबालिकालाई जोखिमपुर्ण काममा लगाउन बन्देज गरेको छ । १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई त कुनै किसिमको श्रममा लगाउन नपाउने व्यवस्था छ ।

सहरिया र सम्भ्रान्त घरानामा घरेलु मजदुर धेरै छन् । हिंसाका घटना पनि यिनै घरानाभित्र धेरै हुने गरेका छन् । मालिकले श्रम शोषण, शारिरिक तथा मानसिक यातना दिने मात्रै होईन, यौन शोषण गरेका जघन्य अपराधका घटनासम्म प्रहरीमा पुगेका छन् । ‘सहरीय अधिकांश संभ्रान्त घरानाले घरेलु कामदार राख्ने गरेको पाइन्छ । त्यस्ता अधिकांश मजदुर १८ बर्षभन्दा कम उमेर समुहका छन् । उनीहरू माथि कुनै न कुनै खालको हिंसा हुने गरेको देखिन्छ,’ बरिष्ठ बालअधिकारकर्मी तारक धितालले भने ।

घरेलु मजदुरमाथि हुने हिंसाका घटना फरक महलमा दर्ता गर्ने व्यवस्था नेपाल प्रहरीमा छैन् । तर, हिंसाका उजुरी भने आउने गरेको प्रहरीले जनाएको छ । ‘घरेलु मजदुरमाथि हुने हिंसाका घटना प्रहरीमा आउँछन् ।

तर, त्यसलाई छुट्टै महल बनाएर दर्ता गर्ने गरिदैन । मालिक र मजदुर भन्दापनि पीडक र पीडत भनेर बुझ्नु पर्ने हुन्छ । किनकि जो सुकैले जो माथि हिंसा गरे पनि त्यो अपराध हो  । त्यसलाई हामी मालिक र मजदुर भन्दा पनि पीडक र पीडित भनेरै बुझ्छौं । कारबाही पनि सोही अनुसार गर्छौं,’ नेपाल प्रहरीका प्रवक्ता डिआईजी शैलेश थापाले भने । नयाँ पत्रिका दैनिकबाट

 

 
 
  
 

You may also like