एमसीसीबारे नेकपा नेतालाई प्रस्ट्याउँदै एमसीसीका सहायक उपाध्यक्ष ब्रुक्स

by समतल अनलाइन

काठमाडौं। नेपाल भ्रमणमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग एमसीसीसँगको अनुदान सम्झौताबारे सोमबार छलफल गरेका छन् ।

संघीय संसद् सचिवालयमा दर्ता भएको सम्झौता अनुमोदनका लागि लबिइङ गर्न काठमाडौं आएका ब्रुक्स नेता खनाललाई भेट्न सोमबार उनकै निवास डल्लु पुगेका थिए । खनाल उक्त सम्झौताबारे अध्ययन गरेर प्रतिवेदन पेस गर्न पार्टीद्वारा गठित कार्यदलका संयोजक हुन् ।

पुस १९ मा सम्पन्न नेकपाको केन्द्रीय कमिटी बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको थियो । छलफलमा खनालले कार्यदल सदस्य भीम रावल र आफ्ना परराष्ट्र सल्लाहकार मिलन तुलाधरलाई पनि सामेल गरेका थिए । अर्का सदस्य परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भने उक्त छलफलमा बोलाइएको थिएन । ब्रुक्सले ज्ञवालीसित आइतबार छुट्टै भेट गरिसकेका छन् ।

ब्रुक्सले आफ्नो भ्रमणमा एमसीसी सम्झौता नेपालकै हित र विकासको पक्षमा रहेको दाबी गर्दै आइतबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री ज्ञवाली र अर्थमन्त्री युवराज खतिवडालाई भेटेका थिए ।

ओली, ज्ञवाली र खतिवडाले ब्रुक्ससँग संसद्को चालु अधिवेशनबाट सम्झौता अनुमोदन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सत्तारूढ दल नेकपाभित्र यो सम्झौतालाई अनुमोदन गरेर अनुदान सहयोग लिने कि नलिने भन्ने विवाद भइरहेको अवस्थामा ब्रुक्सले नेपाल भ्रमण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले संसद्बाट सम्झौता पारित हुने दोर्होयाउँदै आए पनि नेकपाको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेताहरूले नै आलोचना गर्न थालेपछि कार्यदल गठन गरिएको हो ।

कार्यदललाई माघ २९ मा सुझावसहितको निचोड बुझाउन समयावधि तोकिएको छ । खनाल निवासमा भएको छलफलमा नेता रावलले एमसीसीका सहायक अध्यक्ष ब्रुक्ससँग एमसीसी सम्झौताका एकपछि अर्को विषयमा प्रस्ट पार्न आग्रह गरेका थिए ।

ब्रुक्सले खनाल र रावलसामु सम्झौता, यसका प्रक्रिया र एमसीसीको सम्पूर्ण पक्षबारे प्रस्ट्याएका थिए । नेता खनालले एमसीसी सम्झौताका बारेमा विस्तृतमा छलफल भएको जानकारी दिए । ‘सम्झौताका विषयमा थुप्रै कुरा सुन्यौं, अब हामीले सबै कुरा प्रतिवेदनमा ल्याउनेछौं,’ उनले भने ।

खनालले कार्यदलले काम गरिरहेको र आवश्यक परे सचिवालयको बैठकले समय अवधि थप्न सक्ने बताए । ‘म्याद थप्नेबारे छलफल भइरहेको छ, यस विषयमा सचिवालय बैठक बसेपछि थाहा हुन्छ । हामी समयमै प्रतिवेदन बुझाउन सक्छौं तर केही काम पूरा गर्न बाँकी छ,’ उनले भने । सञ्चारकर्मीसँग कुरा गर्दै नेता रावलले ब्रुक्ससँग सम्झौताबारे बुझ्ने काम भएको बताए ।

‘मेरो पोजिसन के हो सबैलाई थाहा छँदैछ । यो छलफलमा एमसीसी सम्झौताबारे थप बुझ्ने काम भयो,’ उनले भने, ‘बैठकमा भएका अन्य कुरा बाहिर ल्याउन मिल्दैन । पार्टीको जिम्मेवारीअनुसार कार्यदलले सम्झौता अध्ययन गरिरहेको छ, केही दिनमा पार्टीलाई आफ्नो धारणा बुझाउने छ ।’

स्रोतका अनुसार रावलले एमसीसीको सहयोग अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिक रणनीतिभित्र रहेको वा नरहेको तथा यो सैन्य गठबन्धनअन्तर्गत भए वा नभएको बारे सोधेका थिए ।

उनले उक्त सम्झौताबाट प्राप्त हुने करिब ५५ अर्ब रुपैयाँको सहयोग सैन्य गठबन्धनअन्तर्गत भए नेपालले लिन नहुने बताउँदै आइरहेका छन् । रावलको प्रश्नको जवाफमा ब्रुक्सले एमसीसी कुनै पनि सैन्य गठबन्धनसँग सम्बन्धित नभएको प्रस्ट पारे । कान्तिपुर दैनिकबाट

 

 
 
  
 

You may also like