विस्तारित सडकमा कार निर्बाध पार्किङ, गरीबका साइकल र ठेला उठाएर लिलामी

by समतल अनलाइन

काठमाडौं । यातायात व्यवस्था चुस्त बनाउन विस्तार गरिएका राजधानीका सडक पार्किङस्थलमा परिणत भएका छन् । मुख्य सडक र फुटपाथमै पार्किङ गरिएका निजी गाडी र मोटरसाइकललाई बेवास्ता गर्ने महानगरीय प्रहरीले गरिबका ठेला, साइकल र विभिन्न सामग्री जफत गरेर लिलामी नै गरिदिन्छ ।

काठमाडौं महानगरपालिकाका भित्री सडक, करिडोर र सडक पेटीमा ठेला गाडी राखेर सामान बिक्री गरेको भेटेमा महानगर र ट्राफिक प्रहरीका संयुक्त टोलीले जफत गर्छन् । ती सामग्री सड्ने, बिग्रने भए जरिवाना तिराएर छाड्ने र नसड्ने सामग्रीहरू (नाङ्लोदेखि, साइकल, ठेलागाडा तथा लत्ताकपडा) भने लिलामी गर्दै आएको छ । उपत्यकाका व्यस्त बजारमै यस्ता कैयौँ सडक छन्, जहाँ नो पार्किङको बोर्ड राखिएको छ, तर त्यहाँ दिनभर सवारी पार्किङ हुन्छन् ।

‘नो पार्किङ’ स्थलमा पार्किङ गरेका सवारी उठाउन भने महानगर प्रहरी मुस्किलले पुग्छ । तर, गरीबका ठेलागाडा र रिक्सा उठाउन भने छिट्टै पुग्छ । जफत भएका ठेला गाडी र रिक्सा लिलामी हुन्छन् तर, महँगा र चम्किला गाडी ट्राफिकले जरिवाना लिएर सहजै छाडिदिन्छन् । महानगरपालिकाले दुई वर्ष अघिदेखि अव्यवस्थित पार्किङ गरिएका सवारीसाधन र सामानहरू जफत गर्न थालेको हो ।

सामान लिलामबाट महानगरलाई २० लाख आम्दानी

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले सडक र पेटीमा सामग्री राखेको पाइएमा जफत गरी लिलाम गर्दै आएको बताए । जफत गरिएका सड्ने र गल्ने सामग्री भए जरिवानापछि फिर्ता गर्ने र नसड्ने सामान लिलाम गर्दै आएको उनको भनाइ छ ।

‘जफत गरिएका सामान दुई साताअघि २० लाखमा लिलाम भए्,’ सापकोटाले भने, ‘जफत भएका सामान फिर्ता दिए फेरि त्यही ठाउँमा राख्छन् । त्यसैले, लिलाम गर्दै आएका छौँ ।’

महानगरपालिकाले सडकबाट उठाएका कपडा, नाङ्लो, साइकल, ठेला, होर्डिङ बोर्डबाट निकालिएको फलाम लगायतका सामग्री लिलाम गरेको जनाएको छ । दैनिक गुजारा चलाउन सडक छेउमा बस्ने साना व्यवसायीको हारगुहार प्रहरीले नसुन्ने गरेको उनीहरूको दुःखेसो छ ।

व्यस्त सडकमै सवारीसाधन पार्किङ

राजधानीका व्यस्त बजारका सडक पार्किङस्थल जस्तै बनेका छन् । सडकमै सवारीसाधन पार्किङ गरिए पनि हटाउन ट्राफिक प्रहरीको ध्यान पुगेको छैन । स्थानीयका अनुसार ट्राफिक प्रहरीले आसपासका व्यवसायीसँग मिलेमतो गरी सवारी पार्किङमा छुट दिएको आरोप लगाउँछन् ।

बागबजार क्षेत्रमा नो–पार्किङ लेखिएका बोर्डसँगै सयौँ सवारी पार्किङ हुन्छन् । मैतीदेवी, पुरानो बानेश्वर, मध्यबानेश्वर, प्रदर्शनीमार्ग, धोबीखोला करिडोर, थापागाउँका सडक पार्किङ गरिएका सवारीले ढाकेका हुन्छन् । ललितपुरका मंगलबजार, लगनखेल, पाटन अस्पताल, कुमारीपाटीलगायत क्षेत्रका सडकमा पार्किङका कारण सवारीसाधन चल्नै मुस्किल छ । भक्तपुरको अरनिको राजमार्गका सर्भिस ट्रयाक पार्किङले भरिन्छन् ।

दूधपाटीस्थित भक्तपुर अस्पताल, क्यान्सर अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्रमा पार्किङ गर्ने ठाउँ नहुँदा सडकमै पार्किङ गर्ने गरिएको छ । जथाभावी पार्किङका कारण पैदलयात्रुको ज्यान समेत खतरामा पर्ने गरेको छ ।

‘साँघुरा सडक र फुटपाथमै पार्किङ गर्छन्,’ पैदलयात्रु प्रेमनाथ जोशी भन्छन्, ‘बाँकी ठाउँमा गाडीको कोचाकोच हुन्छ, हामी कहाँ हिँड्ने ?’ मैतीदेवीको मुख्य सडकमा बिहान सात बज्दा नबज्दै पार्किङ सुरु हुन्छ । बेलुकी सात बज्दा समेत उस्तै हुन्छ । ‘विस्तारित सडकमा पनि गाडी गुड्ने ठाउँ हुँदैन, घर भत्काएर सडक चौडा बनाएको पार्किङकै लागि होकि ?’ मैतीदेवीका तुलसीप्रसाद तिम्सिना प्रश्न गर्छन् । पार्किङ गरिएका सवारीसाधन हटाउन खोज्दा झगडा हुने गरेको तिम्सिना बताउँछन् ।

ट्राफिक जामको मुख्य कारण जथाभावी पार्किङ

उपत्यकामा सवारी जामका धेरै कारणमध्ये अव्यवस्थित पार्किङ पनि मुख्य रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘अनाधिकृत पार्किङ नियन्त्रण गर्न निरन्तर प्रयास गरेका छौँ, एकै व्यक्ति पटक–पटक कारबाहीमा पर्छन्, विशेषगरी साना सवारीका चालकले टेर्दैनन् ।’

महाशाखाले दैनिक दुई सय चालकलाई अनाधिकृत पार्किङअन्तर्गत कारबाही गर्छ । सडकमा अव्यवस्थित पार्किङ गरिएका सवारीमा ‘ह्विल लक’ लगाउने गरेको छ । तर, मुख्य चोकमा मात्रै बस्ने ट्राफिक प्रहरी शाखा र भित्री सडकमा छिर्दैनन् ।

जसका कारण भित्री सडकमा यात्रु र सर्वसाधारण झनै सास्ती बेहोर्न बाध्य छन् । काठमाडौं उपत्यकामा करिब १४ लाख सवारीसाधन छन् । तर, ती सवारीसाधनलाई पार्किङ गर्नकै लागि छुट्टै ठाउँ छैन । महानगरपालिकाले न्युरोड क्षेत्रमा स्मार्ट पार्किङको व्यवस्था गरे पनि यसबाट समस्या समाधान हुन सकेको छैन । नयाँ पत्रिका दैनिकबाट

 
 
  
 

You may also like