चीनको वुहानका नेपाली त्रसित, भन्छन्, ‘नेताहरुमा मानवता हराएछ’

by समतल अनलाइन

काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण चीनको वुहानमा एक अमेरिकीको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली थप त्रसित बनेका छन् ।

अन्य मुलुकका नागरिकलाई सरकारले फिर्ता लगिसके पनि प्रक्रिया पूरा गर्न ढिलाइ हुँदा नेपालीलाई फर्काउन सकिएको छैन । दुई सातादेखि बन्द कोठामा रहेका नेपाली विद्यार्थीले निराश भएर शनिबार फेरि सरकारलाई पत्र लेखेका छन् ।

उनीहरूले शुक्रबार पनि दुई दिन पर्खने र आफूहरूलाई फिर्ता नगरे अन्तर्राष्ट्रिय निकाय गुहार्ने चेतावनी दिएका थिए । सरकारले आवेदन फाराम भर्न लगाएको एक साता बित्दा पनि फिर्ता ल्याउन गम्भीर नबनेको भन्दै नेपाली विद्यार्थी आक्रोशित बनेका छन् ।

प्रधानमन्त्री केपी ओलीले नेपालीलाई तुरुन्त स्वदेश ल्याउन सम्बन्धित मन्त्रीहरूलाई दुईपटक निर्देशन दिइसके । प्रधानमन्त्रीका सल्लाहकारहरूले चिनियाँ पक्षको कुरा सुनेर ढिलाइ गरेको आरोप नेपाली विद्यार्थीको छ । उनीहरूले आफ्नो नाम सञ्चारमाध्यममा आउँदा पढाइमा असर गर्ने भन्दै खुला रूपमा बोल्न मानेनन् ।

विद्यार्थीले शनिबार ‘विनाशकाले विपरीत बुद्धि’ शीर्षकमा परराष्ट्रमन्त्री ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई सम्बोधन गरेर १८१ जनाका तर्फबाट सामूहिक पत्र पठाएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

 
 
  
 

You may also like