आज दिउँसो अधिकांश स्थानमा घाम लाग्ने, कस्तो रहला आउँदा तीन दिन ?

by समतल अनलाइन

काठमाडौं। पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहे पनि आज (आइतबार) देशका धेरैजसो ठाउँमा घाम लाग्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले अहिले मध्य र पूर्वी क्षेत्रका पहाडी भेगमा मात्र मौसम आंशिक बदली भएको छ । यसबाहेक देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।

दिउँसो देशका धेरै स्थानमा घाम देखिने र्भ पनि बेला–बेला बादल पनि देखिने जनाइएको ।’ तर आज पानी पर्ने सम्भावना भने एकदमै कम रहेको पोखरेलले बताएकी छन् । ‘उच्च पहाडी तथा हिमाली भेगका सीमित स्थानमा हिमपात हुन सक्छ,’ उनले भनिन् ।

अहिले सुदूरपश्चिम बाहेक देशका अन्य तराई भू–भागमा हुस्सु–कुहिरो पनि लागेको छैन । ‘सुदूरपश्चिम तराईको हुस्सु पनि बिस्तारै हटेर जाने सम्भावना छ,’ मौसमविद् पोखरेलले सुनाइन् ।
कस्तो रहला आउँदा तीन दिन ?
माघ १९ गते आइतबार
दिउँसो – पूर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
राति – देशभर मौसम सामान्यतया सफा रहनेछ ।
माघ २० गते सोमबार
दिउँसो – पूर्वी तथा मध्य नेपालका भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
राति –देशभर मौसम सामान्यतया सफा रहने छ ।
माघ २१ गते मंगलबार
दिउँसो – देशभर आंशिक बदली रहनेछ । देशको पहाडी भू भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति – देशको पश्चिमी भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पश्चिमी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
स्रोत : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, काठमाडौं

 
 
  
 

You may also like