चल्ला ‘होलिडे’ को असर : ब्रोइलरकाे मासु किलोकै चार सय रुपैयाँ !, किसान भने घाटामै

by समतल अनलाइन

मागअनुसार कुखुरा नपाएपछि कोल्डस्टोरले दिउँसै पसल बन्द गर्दै

काठमाडौं । काठमाडौ उपत्यकामा ब्रोइलर कुखुराको मासु हालसम्मकै उच्च अर्थात किलोको चार सय रुपैयाँ पुगेको छ ।

शनिबारदेखि लागू हुने गरी जिउँदो ब्रोइलरको मूल्य किलोको २७० रुपैयाँ तोकिएपछि आइतबारदेखि तयारी मासु किलोको चार सय रुपैयाँ पुगेको व्यापारीले जानाकारी दिएका छन् ।
यो अहिलेसम्मकै धेरै मूल्य हो । गएको मंसिरको अन्तिम हप्ता तयारी मासु नै किलोको २६० रुपैयाँमा झरेपछि ब्रोइलर कुखुराका चल्ला उत्पादकले चल्ला र अण्डा नष्ट गरेका थिए ।

एक हप्ता लामो चल्ला ‘होलिडे’ अन्तर्गत ४० लाख चल्ला र ६० लाख निशेचित अण्डा नष्ट गरिएपछि त्यसैको प्रभाव स्वरुप अहिले देशभर ब्रोइलर कुखुरा अभाव भएपछि मासुको भाउ बढेको हो ।

यसअघि काठमाडौं उपत्यका र आसपास ब्रोइलर कुखुरा अभाव भएमा व्यवसायीले बाहिरी जिल्लाबाट कुखुरा मगाउने गरेको भए पनि यस वर्ष सबैतिर ब्रोइलर अभाव भएको छ ।
हहिले तराईका जिल्लामै जिउँदो ब्रोईलर कुखुरा किलोको २४० र काठमाडौं उपत्यकामा किलोको २७० तोकिएको व्यवसायीले बताएका छन् ।

बजारको मागअनुसार कुखुरा नपाएपछि कोल्ड स्टोरले दिउँसै पसल बन्द गर्न थालेका छन् । ‘किसानसँग सस्तोमा किनेर कोल्ड रुममा राखेको फ्रोजन मासु समेत ठूला व्यापारीले किलोको ३६० रुपैयाँ भन्न थालेका छन् । यसरी कति दिन टिक्न सकिएला,’ एक कोल्ड स्टोर व्यवसायीले भने ।

असोजदेखि मंसिरसम्म ब्राइलरको मूल्य प्रतिकिलो दुई सय रुपैयाँ समेत नआउँदा किसानले खोरमा चल्ला हुलेका थिएनन् । त्यतिखेर लागत मूल्य ने २२० को हाराहारीमा थियो । यस्तै, पछिल्लो समय ब्रोइलर कुखुरालाई ३० दिन पालिसकेलगत्तै रोग व्याधीबाट मर्ने दर अत्यधिक हुँदा किसान निरन्तर घाटामा गइरहेका थिए ।

 
 
  
 

You may also like