आज शहीद दिवस, वास्तविक शहीदको सम्मान भएन

by समतल अनलाइन

काठमाडौं । आज शहीद दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देश र जनताको अधिकारका लागि बलिदान गर्ने शहीदप्रति सम्मान गर्दै शहीद दिवस मनाइँदै आइएको छ ।

माघ १६ गते प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि भएका आन्दोलनहरुमा जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइने गरिएको छ । सहीद सप्ताह कार्यक्रम नै आयोजना गरिन्छ ।

विसं २०१२ देखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा जहानीयाँ राणा शासकले मृत्युदण्ड दिएका थिए ।

आज शहीद दिवसका अवसरमा बिहान प्रभातफेरी कार्यक्रम गरिँदैछ । प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । विसं २०६३ अघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनमा आफ्नो जीवनको आहूति गरेका वीरको सम्झनामा प्रत्येक वर्ष माघ १६ का दिन शहीद दिवस मनाउने गरिएको छ ।

गणतन्त्र स्थापना पश्चात देशका शहीदहरूको संख्या बढेको छ । जनान्दोलन ०६२र०६३ का बेला शहादत प्राप्त गरेका, मधेश आन्दोलन तथा त्यसपछिका विभिन्न क्रान्तिमा ज्यान अर्पण गर्नेहरूलाइ सरकारले शहीदको सूचिमा राखेको छ ।

वास्तविक शहीदको सम्मान भएन

२ सय ४ वर्षे जहाँनीय राणा शासनका विरूद्ध ज्यान अर्पण गर्ने मात्र नभइ नेपालको लोकतान्त्रिक आन्दोलनमा शहादत हुने वास्तविक शहीदहरूले उचित सम्मान नपाएको सरोकारवालाहरूको भनाइ छ । राणा शासन, पञ्चायती शासन तथा २०५८ सालमा शाही शासन, जनान्दोलन २०६२ र०६३, मधेश आन्दोलन तथा १० वर्षे जनयुद्धमा राज्य पक्ष र विद्रोही पक्षबाट मारिएकालाई सरकारले शहीद घोषणा गर्नु शिवाय केहि नगरेको शहीदका परीवारको भनाई छ ।

शहीदका नाममा विभिन्न स्वार्थपूर्ति गर्नेहरुले राज्य र समाजबाट अनुचित लाभ लिइरहँदा शहीदका परिवारलाई अझै विहान बेलुकाको छाक टार्न धौधौ रहेको छ । राज्यले देशका लागि, जनताका लागि ज्यान अर्पण गर्ने र राजनीतिक आडमा अपराध कर्म गरेकालाई समेत एउटै कोटीमा राखेर शहीद घोषणा गर्दा वास्तविक शहीदको परिचय हराएको छ । शहीदकाे नाममा राज्यबाट सुविधा लिनेहरू मध्ये धेरै जस्ताे गैर शहीद परिवार रहेकाे सराेकारवालाहरूकाे बुझाइ छ ।

 
 
  
 

You may also like