पशु हाटबजार स्थापना गर्न व्यवसायीको माग

by समतल अनलाइन

बुटवल । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले सरकारले तय गरेका आधारभूत मापदण्ड पूरा गरेर व्यवसाय संचालन गर्न आग्रह गरेकी छन ।

नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्नु व्यवसायीकोे पहिलो कर्तव्य हुनुपर्ने बताउंदै उनले गुणस्तरमा ध्यान दिन सुझाव दिएकी हुन । मासु व्यवसायी संघ रुपन्देहीको १० औं साधारणसभा तथा पांचौं अधिवेशनमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएकी हुन ।

उनले बुटवलमा प्रदेश गौरवको आयोजनामा स्तरीय बधशाला बनिरहेकाले विशिष्टिकृत बजारलाई सबै व्ययसायीले अंगाल्नुपर्ने बताईन ।

व्यवसायीले उठाएका जायज मागलाई प्रदेश सरकारले प्राथमिकताका साथ सम्बोधन गर्ने बताउंदै मन्त्री पौडेलले गुणस्तरीय बधशालालाई मासु व्यवसायीले मुख्य योजनामा राख्न आग्रह गरेकी थिईन ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले सार्वजनिक–निजी–साझेदारी अनुसार बुटवलमा बन्दै गरेको बधशाला व्यवस्थापन गर्नका लागि व्यवसायीलाई नै नेतृत्व गर्न आग्रह गरे । उनले बुटवलको मासु व्यवसायलाई स्वस्थकर तथा गुणस्तरीय बनाउनसकेमा यस क्षेत्रको पहिचान बन्नसक्ने र यसबाट पर्यटन व्यवसायसमेत बढ्ने बताए ।

संघका अध्यक्ष कृष्ण पौडेलले रुपन्देहीमा व्यवस्थित बधशालासंगै स्तरीय पशु हाटबजारको आवश्यकता रहेको बताए। यसका लागि व्यवसायी पनि लगानी गर्न तयार रहेको बताउंदै उनले स्थानीय तथा प्रदेश सरकारले विशेष योजना बनाउन माग गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, उपभोक्ता हित संरक्षण मंचका प्रदेश संयोजक तेजकुमार पाठकलगायतले शुभकामना दिएका थिए । अधिबेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

 
 
  
 

You may also like