बुटवल । रूपन्देहीको सैनामैना नगरपालिका–१ मा रहेको धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण स्थल पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ बोलबम धाम परिसरमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। “सेवा नै धर्म हो” भन्ने नाराका साथ सम्पन्न उक्त शिविरमा ३०० भन्दा बढी सेवाग्राहीले स्वास्थ्य परीक्षण गराएका थिए।
स्वास्थ्य शिविर शनिबार बिहान ९ बजेबाट बोलबम धामको सभा हलमा सुरु गरिएको थियो।
शिविरको आयोजना बोलबम धामले गरेको हो भने सहकार्य तथा व्यवस्थापनमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ बुटवल इकाई र साथी फार्मेसी बुटवल रहेका थिए।
शिविरमा जनरल फिजिसियन, नसा तथा मानसिक रोग विशेषज्ञ, मुटु तथा छाती रोग विशेषज्ञ, नेत्र विशेषज्ञ, र मुख तथा दाँतका चिकित्सकहरूले परीक्षण सेवा दिएका थिए। परीक्षणपछि बिरामीहरूलाई आवश्यक औषधिहरू निःशुल्क रूपमा वितरण गरिएको थियो। औषधि वितरणको व्यवस्थापन साथी फार्मेसी बुटवलका सञ्चालक केशव गैरे र उनको टोलीले गरेका थिए।
कार्यक्रमको अध्यक्षता बोलबम धामका अध्यक्ष रामबली चौधरीले गरेका थिए भने सैनामैना नगरपालिकाका मेयर फणिन्द्र प्रसाद शर्मा प्रमुख अतिथि थिए। प्रमुख अतिथि शर्माले यस्ता कार्यक्रमहरू ग्रामीण क्षेत्रका जनताका लागि अत्यन्तै उपयोगी रहेको बताउँदै नगरपालिकाको तर्फबाट भविष्यमा पनि सहयोग गरिने प्रतिबद्धता जनाए।
शिविरको सहजीकरण पत्रकार सत्य नारायण मानन्धरले गरेका थिए। कार्यक्रममा स्वास्थ्य सेवा तथा व्यवस्थापनमा योगदान पुर्याउने चिकित्सक, पत्रकार लगायतलाई दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।
शिविरको संयोजन नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघका सदस्य थानेश्वर बस्यालले गरेका थिए। उनले यसअघि पनि रुपन्देहीका विभिन्न पालिकाहरूमा यस्ता स्वास्थ्य शिविर सञ्चालन गरिसकेका छन्। उनले आगामी दिनमा गुल्मीको चोरकाटे लगायत ग्रामीण क्षेत्रहरूमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए।
कार्यक्रममा बोलबम धामका उपाध्यक्ष तमबहादुर पुर्जाले स्वागत मन्तव्य राखेका थिए भने धामका महासचिव प्रेमलाल भुसालले सम्पूर्ण कार्यक्रम सञ्चालन गरेका थिए।
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघका अध्यक्ष राजबन्धु लामिछानेले यस्ता सामाजिक कार्यहरूमा निरन्तर सहकार्य गर्ने बताउँदै भने, “हाम्रो उद्देश्य जनताको सेवा गर्ने हो। सामुदायिक स्वास्थ्यका क्षेत्रमा औषधि प्रतिनिधिहरूले अझ सक्रिय र जिम्मेवार भूमिका खेल्नुपर्ने आवश्यकता छ।”
शिविरमा सहभागी अधिकांश सेवाग्राहीले गाउँमै स्वास्थ्य सेवा प्राप्त गर्दा राहत मिलेको प्रतिक्रिया दिएका छन्। यस्तो किसिमको कार्यक्रमले ग्रामीण बासिन्दाहरूको स्वास्थ्य पहुँच विस्तार गर्न ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ।