तिलोत्तमाका ४ हजार ७४८ पशुमा लम्पी स्किनविरुद्धको खोप

by समतल अनलाइन

बुटवल।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्रका सबै गाई गोरुमा लम्पी स्किनविरुद्धको खोप लगाएको छ । तिलोत्तमाले गत साउन २१ गतेदेखि पशुमा लम्की स्किनविरुद्धको खोप लगाउन शुभारम्भ गरेको थियो ।

शुक्रबार पशु शाखा जानकीनगरमा एक कार्यक्रमको आयोजना गरी ४ हजार ७४८ पशुमा भ्याक्सिन लगाएको जनाएको छ । नगरका सबै पशुलाई लम्की स्किनविरुद्धको खोप लगाइएको हो ।

पशु चिकित्सक डा. उर्जा देवकोटाले नगरभित्र ५ हजार ९३ वटा गाईगोरु रहेकोमा ४ हजार ७४८ पशुमा भ्याक्सिन लगाइएको जानकारी दिए । ‘नगरभित्र ५ हजार ९३ गाईगोरु छन् । त्यसमध्ये हामीले ४ हजार ७४८ गाईगोरुमा खोप लगाएर सकेका छौँ ।’ उहाँले भन्नुभयो, ‘रोग लागेका र गर्भवती अवस्थामा रहेका गाईलाई भने खोप लगाइएको छैन् ।’ साथै नगरभित्र संङ्मित पशुको संख्या ८३६ रहेको पशु चिकित्सक देवकोटाले बताए ।

हाल उपचाररत पशुको संख्या ४४ रहेको र १०६ गाईगोरु लम्की स्कीन रोगबाट मरेको उहाँको भनाइ छ ।नगरले भयावह अवस्था आउन सक्ने आंकलन गरेर पहिले नै सबै पशुमा लम्की स्कीनविरुद्धको खोप लगाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताउनुभयो ।

अर्यालले नगरपालिकाले पशुमा देखिएको लम्की स्किन रोग नियन्त्रणका लागि आर्थिक वर्ष २०८०–८१ को बजेटमा २० लाख विनियोजन गरेकोमा १० लाखमा काम सम्पन्न भएको बताए ।

रुपन्देही जिल्लामा सबैभन्दा धेरै पशुमा खोप लगाउने नगरपालिका तिलोत्तमा रहेको उनको भनाइ छ । तिलोत्तमा नगरपालिका –२ का वडाध्यक्ष दिलबहादुर भट्टराईले नगरपालिकाले समयमा नै लम्की स्किनको खोप दिन सुरु गरेकाले धेरै पशुहरु यस रोगबाट जोगिएको बताए ।

कार्यक्रममा लम्की स्किनको खोप लगाउने प्राविधिक र स्वयंसेवक विद्यार्थीलाई सम्मान गरिएको थियो ।
तिलोत्तमा नगरपालिकाले शुक्रबारदेखि नै १७ औँ विश्व रेबिज रोगविरुद्धको साप्ताहिक निःशुल्क खोप कार्यक्रमको सुरुवात गरेको छ । खोप कार्यक्रमको जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाईले कुकुरलाई रेबिजविरुद्धको खोप लगाइदिएर कार्यक्रमको सुरुवात गरे । यो अभियान एक हप्तासम्म चल्नेछ ।

 
 
  
 

You may also like