बुद्ध टेलिभिजनको १५ औँ वार्षिकोत्सव : ‘मिडियाले आलोचनात्मक चेत गुमाउनुहुँदैन’

by समतल अनलाइन

बुटवल ।मिडिया र स्थानीय तह एक अर्काका सहयोगी बन्दै हातेमालो गरेर अघि बढ्नुपर्ने सरोकारवालाले बताएका छन् । मिडियाले आलोचनात्मक चेत भने गुमाउन नहुने उनीहरुको धारणा छ ।

बुद्ध सामुदायिक टेलिभिजनको १५ औँ वार्षिकोत्सव अन्तरगत आयोजित सुशासनका लागि स्थानीय तह र मिडियाको भूमिका विषयक गोष्ठीमा बोल्ने बक्ताहरुले पालिकालाइ सुशासनयुक्त बनाउन मिडियाको भूमिका अहम हुने धारणा राखे । सो अबसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवल सबैको साझा उपमहानगर बनेको दाबी गरेका छन्।

पाण्डेयले सुशासनको व्याख्या फरक फरक तरिकाले हुने गरेको बताउँदै सबैको साझा बन्न सक्नु पनि सुशासनयुक्त भएको दाबी गरे। उनले बुटवलका हरेक गतिविधिमा जनसहभागिता निकै उत्कृष्ट रहँदै आएको बताउँदै बुटवल सुनाउन र हेर्न लायक सहरको रूपमा रहेको दाबी गरे। सञ्चार क्षेत्रमा विज्ञापन वितरणमा समेत साझा प्रयास गरेको सुनाउँदै मिडिया हाउसले पनि दोहोरो संवादको अवस्था सिर्जना गर्नुपर्ने बताए ।
पहिले पहिलेका वर्षहरूमा बुटवलमा भएका काम भन्दा निकै राम्रा कामहरू भएको दाबी गर्दै अघिल्लो वर्षमा संस्थागत रूपमा दिइएको बजेट नदेखी व्यक्तिगत रूपमा माग्दा समस्या भएको बताए। उनले समस्याको बारेमा सबैले कुरा उठाउने र गालिगर्ने भए पनि समाधानको बाटो कसैले नदेखाउने बताउँदै समाधानको बाटो सहित आएमा बुटवल हरेक समस्या जरैबाट फाल्न तयार रहेको दाबी गरे।

लुम्बिनी प्रदेश सरकारका मुख्य महान्यायाधिवक्ता डा बुद्ध बहादुर थापाले प्रदेश सरकारको औचित्य बाहिर हल्लामा आएजस्तो नभएको बताएका छन्। उनले भित्र केही कमी कमजोरीहरू रहे पनि सुधार गर्दै मिडियामैत्री बनेर जनतालाई सहज सेवा दिने प्रयास गरिरहेको बताए। उनले जनप्रतिनिधि र कर्मचारीका बिचमा मेल नहुँदा धेरै कुरामा समस्या आएको बताए। उनले व्यवहारिक तरिकाले काम गर्ने कर्मचारीलाई ढुक्कले काम गर्ने अवस्था सिर्जना गर्न सबैले पहल गर्नुपर्ने बताए।

रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणी आफू आएदेखि मिडिया मैत्री रहेको बताउँदै जनतालाई सहज सेवा दिने कुरामा पछाडि नहट्ने बताए। उनले सञ्चार क्षेत्रको हरेक गतिविधिमा सहकार्य गर्दै जाने बताए।शुद्धोदन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पोख्रेलले अहिले प्रचलित समसामयिक कानुनहरू परिमार्जन गर्दै जानुपर्ने बताए। उनले स्थानीय तहमा रहेका कार्यपालिका सदस्यको भूमिका बढाएर जिम्मेवारी दिनुपर्ने बताए।

नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले सञ्चार माध्यम र सामाजिक सञ्जाल बिचको फरक नबुझ्दा खास पत्रकार समस्यामा परेको बताए। उनले सञ्चार माध्यमले आलोचना गर्ने भएकोले राम्रो नमान्ने प्रचलन कायम रहेको अवस्थामा आलोचनाले संस्था वा व्यक्ति सुदृढ हुने कुरामा विश्वास राख्न आग्रह गरे।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लेखक मनिकर कार्कीले स्थानीय तहले सेवा प्रबाह,न्याय सम्पादन र बिधायिकी कार्यमा सहि भूमिका खेल्न नसेकेको बताए । कार्यपत्रमाथि टिप्पणी गर्दै लेखक युवराज कडेलले स्थानीय सरकारले गलत समाचार ढाक्नकै लागि प्रेस सल्लाहकार राख्ने गरेको भन्दै यसले पत्रकारितामा ढेस पुगेको बताए । उनले कानुन निर्माणमा स्थानीय सरकार चुकेको र कपि पेष्ट बढि भएको स्मरण गराए । त्यस्तै उच्च अदालत बुटवल बारका अध्यक्ष अधिवक्ता कैलास ज्ञवालीले मिडियाले आलोचनात्मक समाचार दिदा स्थानीय सरकार झन् बलियो हुने बताए ।

प्रकाशन तथा प्रसारण संघ लुम्बिनी अध्यक्ष नवराज कुवरले स्थानीय तहमा आफ्ना नजिकका व्यक्ति पोस्ने काम गरेको आरोप लाग्ने बताउँदै सबैको साझा बन्न सक्नुपर्ने बताए।राज्य टेलिभिजनका कार्यत्रकारी प्रमुख विष्णु भुसालले मिडिया बचाउनको लागि बास्केट फन्ड स्थापना गरी रकम सहयोग गर्नुपर्ने बताए।

लुम्बिनी टेलिभिजनका महासचिव दिनेश पाण्डेले सुशासनका कुरा भाषणमा मात्र सीमित हुने गरेको बताउँदै सडकमा हुँदा उठाएका कुरा सत्तामा पुगेपछि बिर्सन नहुने बताए।राष्ट्रिय टेलिभिजन प्रकाशक संघ लुम्बिनी अध्यक्ष नरेश केसीले स्थानीय तहमा भएका प्रेस सल्लाहकारले सल्लाहकारको भूमिका भन्दा समाचार पठाउने र विज्ञापन वितरण गर्ने गरेको बताउँदै भूमिकामाथि प्रश्न गरे।

बरिष्ठ पत्रकार डा बालकृष्ण चापागाईँले अब सङ्घीयताको प्रादेशिक तहलाई हटाएर सुशासन कायम गर्नुपर्ने बताए। उनले प्रदेश हटाउनको लागी बुटवलबाट सुरु गर्नुपर्ने बताए ।शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १५ औँ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत बुधवार मुख्य समारोहको आयोजना र तिज विशेष कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सवको समापन हुने टेलिभिजनका कार्यकारी प्रमुख विक्रम खड्काले जानकारी दिए।

सप्ताहव्यापी कार्यक्रम अन्तरगत उद्घाटन सत्र, सरसफाइ, छाडा चौपाया व्यवस्थापनको लागि सरोकारवाला निकायका बिचमा छलफल र आज सुशासनका लागि स्थानीय तह र मिडियाको भूमिका विषयक गोष्ठी आयोजना गरिएको समाचार प्रमुख कपिल ज्ञवालीले बताए । टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम प्रमुख खेमराज रेग्मीले गरेका थिए।

 
 
  
 

You may also like