नवीनमा विद्यार्थीहरुलाई स्वागत

by समतल अनलाइन

बुटवल । नवीन औद्योगिक कदरबहादुर रीता मा.वि. देवीनगरमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा ११ मा नव आगन्तुक विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवलमा शनिबार भव्य स्वागत गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि बुटवल उप–महानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलका सामुदायिक विद्यालयहरुले बुटवलले गर्व गर्ने कार्य गरेकोमा सराहना व्यक्त गर्दै बुटवल उप–महानगरपालिकाले बुटवलको शिक्षालाई पहिलो प्राथमिकतामा राखेकोले भौतिक पूर्वाधार विकासमा संघीय सरकार र प्रदेश सरकार समक्ष जोडदार माग गरेको धारणा राख्दै विद्यालयहरुले पनि बुटवलको सरसफाइ, हरियाली व्यवस्थापन र उज्यालो बुटवल बनाउनेतर्फ सहयोग गर्न आग्रह गरे ।

विशिष्ट अतिथि राष्ट्रिय परीक्षाबोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले विद्यालयले कक्षा ११ र १२ सबै समूहमा अध्ययनरत ठूलो संख्यामा विद्यार्थीहरुलाई उपयुक्त व्यवस्थापन गरेर विद्यार्थीहरुको मन जितेर उत्कृष्ट नतिजा दिन सफल भएकोमा विद्यालय परिवार प्रति आभार व्यक्त गरेका थिए ।

उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खरेल, वि.व्य.स. सदस्य भारतकुमार रसाली, राजेन्द्र ढकाल, विद्यालयका प्रधानध्यापक प्रेमबहादुर बस्नेत, सहायक प्रधानाध्यापक अर्जुन खनाल, कानून समूह इञ्चार्ज अधिवक्ता लोकप्रसाद खरेल, सुस्मिता पुन, नवीन बाल क्लबका अध्यक्ष अमिशन थापा, विज्ञान समूहकी विद्यार्थी अंकिता पराजुलीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कक्षा ११ कानव आगन्तुक विद्यार्थी स्वागत कार्यक्रमका संयोजक व्यवस्थापन समूहका विद्यार्थी अविजित पन्थीको अध्यक्षतामा बसन्ती ढकाल, धन्यवाद चौधरी, प्रकृति पाण्डेय र आयुषा नेपालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मोडल डान्सर करिष्मा ढकाललगायत विभिन्न समूहगत विद्यार्थीहरुले रोचक साँस्कृतिक प्रस्तुति गरेका थिए ।

उक्त अवसरमा सिभित इञ्जिनियरिङतर्फ २०७९ मा कक्षा १२ को बोर्ड परीक्षामा ३.८३ जीपीए ल्याई नेपाल प्रथम हुन सफल सुस्मिता पुन र अर्का विद्यार्थी शिशिर ज्ञवालीलाई नगर प्रमुख खेलराज पाण्डेयले सम्मान गरेका थिए । विद्यालयमा विज्ञान, सिभिल इञ्जिनियरिङ, व्यवस्थापन, कानून र शिक्षा समूहमा कक्षा ११ मा एक हजार ८६ र कक्षा १२ मा एक हजार ७१ सहित चार हजार पाँच सय ७८ विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

 
 
  
 

You may also like