पत्रकार महिलालाई कपाल सम्बन्धी स्वहेरचाह अभिमुखीकरण

by समतल अनलाइन

बुटवल।सञ्चारीका समूह रुपन्देहीले सञ्चारकर्मी महिलाहरूका लागि एक दिने कपाल सम्बन्धी स्वहेरचाह अभिमुखीकरण प्रदान गरेको छ। मङ्गलवार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै फ्रन्ट लाइनमा खटिएर व्यस्त जीवनशैलीमा काम गर्दै आएका पत्रकार महिलाहरूलाई कपालको हेरचाह सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको हो।

समृद्धि हेयर ड्रेसिङ सलोन एन्ड एकेडेमीका सञ्चालक मोहन ठाकुरले प्रशिक्षण प्रदान गर्दै व्यस्त जीवनशैली र फ्रन्ट लाइनमा काम गर्ने पत्रकार महिलाहरूलाई कपालले धेरै प्रभाव पार्ने भएकोले यसतर्फ सचेत रहनुपर्ने बताए।उनले सस्तोको पछाडि लाग्दा कपालको अवस्था नै बिग्रने भएकोले गुणस्तरीय सामाग्रीको प्रयोग गर्न आग्रह गरे।

कपालले मानिसलाई सुन्दर र आकर्षक बनाउनको लागि निकै महत्त्व राख्ने भएकोले यसको हेरचाहमा ध्यान दिनुपर्ने बताउँदै उनले कपाललाई प्रोटिन प्रदान गर्ने सामाग्री प्रयोग गर्दै समय समयमा काटछाट गर्नुपर्ने बताए।
उनले कपालको सुरक्षाका लागि अपनाउनु पर्ने कुराहरुको बारेमा बताउदै कपालको स्याहार गर्दै आफुलाई सुहाउने डिजाईनको बारेमा समेत प्रशिक्षण प्रदान गरेका थिए।

कार्यक्रममा बोल्दै सञ्चारीका समूह लुम्बिनी प्रदेश अध्यक्ष एव रुपन्देही सल्लाहकार अमृता अनमोलले फ्रन्ट लाइनमा खटिने पत्रकार महिलाहरूले एक दिनमा धेरै कार्यक्रमहरूमा पुग्नुपर्ने बताउँदै कपालको डिजाइन हरेक परिवेशलाई सुहाउँदो खालको बनाउन सहयोग गर्न आग्रह गरिन । उनले समय अनुसार आफूलाई परिवर्तन गर्दै जानुपर्ने बताइन। उनले पर्दा पछाडि बसेर काम गर्ने पत्रकार महिलाहरूलाई पनि पर्दा अगाडि आउने जस्तै बनाएर आत्मबल बढ्ने गरी काम गर्न आग्रह गरिन।
सञ्चारीका समूह रुपन्देही अध्यक्ष निरा गौतम(निरु)ले अन्य व्यक्तिका भोगाइहरूलाई समाचारमा उतार्दा उतार्दै आफ्नो स्वहेरचाहमा ध्यान दिन नपाइएको अवस्था आएको बताउँदै समय परिवेश अनुसार आफ्नो स्वहेरचाह सम्बन्धी अभिमुखीकरण राखेको जानकारी दिइन।

उनले आगामी दिनमा आफ्नो लागि समय निकालेर स्वास्थ्य सम्बन्धी विभिन्न किसिमका अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने बताउँदै बदलिँदो समय अनुसार आफलाइ अपग्रेड गर्दै आत्मबल बढाउने खालका कार्यक्रम गर्ने बताइन।
कार्यक्रममा ३५ जना सहभागी भएको कार्यक्रम संयोजक एव सञ्चारीका समूह रुपन्देही सचिव पूजा पन्थीले जानकारी दिइन।
सञ्चारीका समूह रुपन्देही अध्यक्ष निरा गौतम(निरु)को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव अस्मिना पाण्डेले गरेकी थिइन। कार्यक्रममा समृद्धि हेयर ड्रेसिङ सलोन एन्ड एकेडेमीका मणिग्राम शाखा सञ्चालक अनिल अर्याल र कपिलवस्तु जितपुर शाखा सञ्चालक सन्ध्या पाण्डेको समेत सहभागिता रहेको थियो।

 
 
  
 

You may also like