प्रदेशको नामाकरण पहिचानका आधारमा भए द्वन्द्व हुँदैन : गगन थापा

by समतल अनलाइन

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामकरणका विषयमा स्व. प्रदीप गिरिले दिएको विचारसँग आफ्नो पार्टी सहमत हुन सके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका छन् ।

आज (सोमबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा स्व. प्रदीप गिरिको स्मृतिसभाका अवसरमा आयोजित कार्यक्रममा उनले आफू केही दिनअघि मात्र झापा र इलाम पुगेर आएको भन्दै कोशी प्रदेशमा नामकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै गइरहेको उल्लेख गरे ।

पहिचानका आधारमा प्रदेशको नामकरण गर्दा समाजको द्वन्द्वलाई केही समयसम्मका लागि रोक्न सकिने स्व. गिरिको विचारलाई कांग्रेस जस्तो मूल राजनीतिक पार्टीले प्राथमिकतामा राख्नुपर्ने उनले बताए । स्व. गिरिको विचारलाई जम्मा गरेर कांग्रेसले राखे मात्र पनि २० वर्षसम्मका लागि पार्टीमा आउने समस्या सहजै समाधान गर्न सकिने उनको भनाइ छ ।

‘उहाँले यति धेरै कुरा बोल्नु, लेख्नु भएको छ, उहाँका फुटकर लेखहरू, रचनाहरू, यो सबै कुरालाई पार्टीबाट प्रकाशन गर्नुपर्छ, जम्मा गर्नुपर्छ र उहाँले भन्नुभएका कुरालाई सिलसिलाबद्ध मिलाएर, उहाँले बताउन खोज्नु भएको, भन्न खोज्नु भएको कुरालाई कम्तीमा पनि अर्को १५-२० वर्षका निम्ति समस्या परेको बेलामा त्यसले कांग्रेसलाई सम्बोधन गर्नेछ । त्यसबाट एउटा आधार बन्छ ।’

उनले भने, ‘म झापा र इलाम गएर आएँ । त्यहाँ प्रदेश–१ को नामकरण ठूलो विषय छ । तर, प्रदीप गिरिले संविधान निर्माणको बेलामा राख्नु भएको विचारलाई मात्रै हेर्ने हो भने खासगरी हाम्रो नेपालको संघीयतालाई अघि बढाउने विषयका सन्दर्भमा उदारतापूर्वक नेपाली कांग्रेस जस्तो मूल राजनीतिक पार्टीले नामकरण जस्तो विषय गर्दै गर्दा पहिचानको कुरालाई प्राथमिकता दिएर गर्नुपर्छ । यदि, यसलाई गर्‍यौँ भने हामीले समाजको द्वन्द्वलाई चीरकालसम्म मेट्न सक्छौँ भन्ने कुराको प्रेरणा प्रदीप दाइको भनाइबाट पाउन सक्छौँ । नेपाली कांग्रेसलाई बदल्ने हो, कांग्रेसको सदस्य बदल्ने, उमेदवार छनोट प्रक्रिया बदलेर पार्टीलाई कसरी अघि बढाउने भन्ने सन्दर्भमा अघि जानुपर्छ ।’ महामन्त्री थापाले कांग्रेसलाई बदल्नका लागि पार्टी सदस्यता र उम्मेदवार छनोट प्रक्रिया बदल्न आवश्यक रहेकामा जोड दिए ।

 
 
  
 

You may also like