कांग्रेस केन्द्रीय समिति बैठक आज पनि : सभापति देउवाले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज (बुधबार) बस्दै छ । सानेपा, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाइएको छ ।

गत साउन २ गतेदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिसके पछि गत सोमवारदेखि भने पार्टी पदाधिकारीले आफ्नो धारणा राखेका थिए । उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, सीता गुरुङ र राजीव कोइरालाले आ–आफ्नो धारणा राखेका थिए ।

आजको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा छलफलका विषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएको छ । केन्द्रीय समिति बैठकले गर्ने निर्णयको खाकाको विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो । मंगलबार यस विषयमा छलफल भए पनि बैठकले अन्तिम टुंगो लगाउन सकेको थिएन ।

आज बिहान बस्ने महामन्त्रीसहितको बैठकले केन्द्रीय बैठकको निर्णयमा अन्तिम निष्कर्ष निकाल्ने बताइएको छ । उक्त निष्कर्ष अपराह्न ४ बजे बस्ने बैठकमा प्रस्तुत गरिनेछ । पदाधिकारीको हिजोको बैठकमा नीति अधिवेशनको मिति, महामन्त्री गगन थापाको १३ बुँदे लिखित प्रस्ताव, सरकार र पार्टीको विषयमा गरिनुपर्ने निर्णयबारे छलफल भएको थियो ।

 
 
  
 

You may also like