मेयर खेलराजको एक्सन:बुटवलको कालिकापथ र नेपालगञ्ज रोड जोड्न भत्काइयो पर्खाल

बुटवल । बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्न निकास खोलेको छ।

लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर बुटवल उपमहानगरपालिकाले दुई सडक जोड्ने निकास निकालेको हो।

यो सडक सञ्चालनमा आएपछि बुटवलको नेपालगञ्ज रोडबाट कालिकापथ जानेआउने निकास सहज हुने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो।

उहाँले ४१ फुटको सडक बनाउने गरी सो क्षेत्रमा रहेका संरचना भत्काइएको र यसले कालिकापथ जान आउन सहज हुने र मुख्य सडकको चाप कम गर्न मदत गर्ने बताउनुभयो।

उहाँले अस्पताल र कालिकामन्दिरको क्षेत्रमा आवश्यक पर्खाल बुटवल उपमहानगरपालिकाले लगाउने र सडक पक्की गर्ने तयारी अगाडि बढाएको बताउनुभयो। ‘कालिकापथ र राजमार्गको नेपालगञ्ज रोड जोडिने भएको छ-उहाँले भन्नुभयो-यसले कालिकापथको उत्तरी निकास कहाँ हो भन्ने अन्योल हटाउने छ भने कालिकापथ र नेपालगञ्ज रोड जोडिएपछि सवारी चाप पनि कम हुनेछ।

सो क्षेत्रमा डोजर लगाएर बुटवल उपमहानगरपालिकाले सडक सञ्चालनमा ल्याउने भएपछि स्थानीयले खुशी प्रकट गरेका छन्।

 
 
  
 

You may also like