काठमाडौं । स्कटल्याण्डमाथि ४ विकेटको शानदार जित हात पार्दै नेदरल्याण्ड्स विश्वकपमा छनोट भएको छ ।जिम्बाव्वेको बुलवायोमा जितका लागि पाएको २७८ रनको लक्ष्य नेदरल्याण्ड्सले खेल सकिन ४३ बल अघि नै भेट्टाएर विश्वकपमा स्थान पक्का गरेको हो ।
यसअघि नै बाहिरिसकेको जिम्बाव्वे र स्कटल्याण्डको समान ६ अंक भए पनि नेदरल्याण्ड्सलाई रनरेटमा अघि रहेर विश्वकपमा छनोट हुनका लागि यो खेल ३६ बाँकी छँदा जित्नु पर्ने थियो ।
तर बास डी लिड्सले विस्फोटक ब्याटिङ गर्दै टिमलाई ४२.५ ओभरमा नै जिताए । जितका लागि २ रन बाँकी हुँदा आउट भएका लिड्सले ९२ बलमा १२३ रन बनाए । ४० ओभरको खेल सकिँदा ५ विकेटको क्षतिमा २३३ रनको स्थितिमा रहेको नेदरल्याण्ड्सले आफू अनुकुलको नतिजा निकाल्नका लागि ४१औं ओभरमा २२ र ४२औं ओभरमा २० रन बटुलेको थियो ।
यसअघि पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउँदै २७७ रन बनाएको थियो । उसका लागि ब्रान्डन म्याकमुलनले १०६ तथा कप्तान रिचे बेरिङटोनले ६४ रन बनाए ।
छनोट प्रतियोगिताबाट श्रीलंका यसअघि नै विश्वकपमा पुगिसकेको थियो भने अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंगल्याण्ड, भारत, न्यूजिल्याण्ड, पाकिस्तान र दक्षिण अफ्रिका सोझै छनोट भएका थिए ।
विश्वकप क्रिकेट आउँदो अक्टोबर नोभेम्बरमा भारतका १० वटा शहरमा आयोजना हुँदै छ ।