सिञ्जाको नीति : पर्यटनलाई प्राथमिकता

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजित गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।

खस भाषाको जन्मथलोसमेत रहेको सिञ्जालाई पर्यटकीय ‘हब’ मा विकासित गर्नेका लागि पालिकाभित्रका लुकेका पर्यटन क्षेत्रलाई थप प्रवर्द्धनका लागि पूर्वाधार निर्माण गाउँपालिकाले नीति अवलम्बन गरेको छ । उनले भने, ‘पर्यटन बोर्डसँग सहकार्यमा खस रीतिरिवाज र संस्कृति समेटको खस ‘क्यालेण्डर’ निर्माण गरी कार्यान्वयनमा ल्याउने नीति गाउँपालिकाले लिएको छ । खस भाषाको सभ्यता अध्ययन प्रतिष्ठानको रुपमा विकास गर्न सङ्घीय सरकारसँग पहल गरिने छ ।’

सिञ्जाको इतिहास अभिलेखिकरण र पालिकाको वडा नं ३ स्थित राइके पाखोमा सिञ्जा राज्यको प्रभाव क्षेत्र झल्किने नेपालको नक्शा निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरि गाउँपालिकाले काम गरेको उपाध्यक्ष सीतली रोकायाले बताइन् । खस भाषाको सङ्ग्रहालय निर्माणको कामलाई निरन्तरता दिँदै यूनेस्कोको सहयोगमा सिञ्जालाई मूर्तअर्मूत विश्व सम्पदा सूचीको रुपमा अगाडि बढाउन गुरुयोजना तयार गरिने प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए । जिल्लाकै पवित्र धार्मिक पर्यटकीयस्थल सिञ्जाको केदारनाथमा आगामी भदौ १० मा धार्मिक मेला लाग्ने भएको छ ।

यसबाट सिञ्जाको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने जनाइएको छ । सिञ्जाका अन्य पर्यटकीय क्षेत्रसहित जुम्ला विमानस्थल, चन्दननाथ मन्दिर र सिञ्जा सभ्यताको अवलोकन गर्ने कार्यक्रम रहेको सिञ्जा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । पर्यटन मन्त्रीको दृढताका कारण यो वर्ष जुम्ला विमानस्थल स्तरोन्नतिको कामले गति पाएको छ ।

चन्दननाथ मन्दिरको विस्तार र सिञ्जा सङ्ग्रहालयका लागि दीर्घकालीन बजेटको व्यवस्थापन सङ्घीय सरकारको बजेट भाषणमा सम्बोधन भएको जनाइएको छ । सिञ्जा गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बजेटमा केदारनाथलाई धार्मिक र प्राकृतिक पर्यटनका रुपमा विकास गर्ने कार्यलाई विशेष प्रथामिकतामा राखेर काम गरेको उपाध्यक्ष सीतली रोकायाले बताइन् ।

सिञ्जा –४ स्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल केदारनाथलगायत पालिकाभित्रका थुप्रै ऐतिहासिक धार्मिक तथा पर्यटकीय महत्वकास्थल उचित प्रचारप्रसार र पूर्वाधार निर्माण नहुँदा पर्यटकीय महत्वकास्थल ओझेलमा परेको गाउँपालिकाका प्रवक्ता तीर्थ वडले जानकारी दिए । समुद्रि सतहदेखि लगभग तीन हजार पाँच सय मिटर उचाइ लेकको काखमा अवस्थित केदारनाथ मन्दिर रहेको छ ।

 
 
  
 

You may also like