ऐतिहासिक पत्रिका जनसंघर्ष ३४ औं वर्षमा प्रवेश

बुटवल । असार ९ जनसंघर्षको ऐतिहासिक दिन हो । रुपन्देहीबाट ३३ वर्ष अघि आफ्नो प्रकाशन यात्रा सुरु गरेको यो पत्रिका वास्तवमै जनजनको मन जित्न सफल भएको छ । यो पत्रिकामा आबद्ध भएका हजारौं व्यक्तिहरु अहिले कुशल पत्रकार, राष्ट्रसेवक कर्मचारी, शिक्षाप्रेमी, वकिल, प्रशासकलगायत देशका विभिन्न उच्च तहमा पदासीन छन् ।
जनसंघर्षले आफ्नो स्थापनादेखि पत्रकारिताको मूलमर्म र धर्मलाई आदर्शको रुपमा लिदै कर्तव्यबाट बिचलित नभई विभिन्न चुनौतीलाई सामना गर्दै समय क्रममा आफुलाई पाठकसामु अब्बल सावित गराउँदै आएको छ ।

यो पत्रिकाको निरन्तर यात्राका क्रममा विभिन्न जनआन्दोलनहरु भए । धेरै सरकारहरु बने, धेरै नेताहरु सत्तामा पुगे, सरकारको नतेत्व गरे । जनतामा चमक ल्याउने गरी आमूल परिवर्तनका लागि कसम खाए । तर जनताले अपेक्षा गरे अनुसारको विकास र समृद्धि आउन बाँकी नै छ । जनताका आधारभूत आवश्यकता र अधिकारहरु व्यवहारमा लागु हुन अझै जरुरी छ ।

जनसंघर्षले जहिले पनि जनताका हक अधिकार र आवाजलाई निरन्तर रुपमा सूचना, समाचार र विचारका माध्यमबाट खबरदारी गरिरह्यो र आज सम्म पनि निरन्तर एउटा गर्विलो खम्बाको रुपमा अडिग भएर अगाडि बढेको छ ।
प्रारम्भदेखि २२ वर्षसम्म दैनिक रुपमा प्रकाशित भई आएको यो पत्रिका मर्जर पश्चात साप्ताहिकमा परिणत भएयता ३४ औं वर्ष प्रवेश हुँदासम्म यसले अनेकौं चुनौती पार गर्दै सफलताको शिखर चुमीरहेको छ । नेपाली पत्रकारिताको गर्विलो इतिहास रचना गरेको छ ।

स्थापनादेखि ३३ वर्षसम्म अनवरतरुपमा प्रकाशित जनसंघर्षको यात्रामा प्रत्यक्ष संलग्न भई योगदान दिएका तथा अप्रत्यक्ष रुपमा निरन्तर साथ र सहयोग गर्नुहुने समस्त पाठक, विज्ञापनदाता, शुभेच्छुकहरु सबैप्रति जनसंघर्षका संस्थापक तथा प्रधान सम्पादक डा. बालकृष्ण चापागाईंले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।

पत्रकारिताको यो गौरवपूर्ण यात्रामा जनसंघर्षले आगामी दिनमा पाठकको मन जित्ने गरी सूचना, समाचार र विचारको प्रस्तुती गर्नेछ । यसका लागि सबै क्षेत्रको रचनात्मक सहयोग र सुझावको अपेक्षा लिएको प्रधान सम्पादक डा. चापागाईंले बताए ।

 
 
  
 

You may also like