ओलीको आरोप : प्रधानमन्त्रीले १५ वटा राँगासँग दुईटा नदी बेचे

स्याङ्जा । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा १५ वटा राँगासँग दुई वटा महत्वपूर्ण नदी बेचेको आरोप लगाएका छन् ।

स्याङ्जाको आँधीखोला र कालीगण्डकी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उनले नेपाल आफैले बनाउन सक्ने अति सस्तो फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत् आयोजना भारतलाई जिम्मा दिएर १५ वटा राँगा लिएको फर्किएको बताएका हुन् । सस्तो आयोजनाहरू आफैले बनाउने र जनतालाई शेयर दिनुपर्ने दायित्व सरकारसँग भए पनि प्रधानमन्त्रीले आफ्नो पद यथावत राख्ने शर्तमा जनतालाई अवमूल्यन गर्दै आयोजना भारतलाई जिम्मा दिएको अध्यक्ष ओलीको भनाइ छ ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको सम्झौता गरेका थिए । सम्झौतासँगै नेपालको सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीको समेत लगानीमा निर्माण हुने भएको छ ।

यो आयोजना निर्माणका लागि एनएचपीसी र विद्युत् उत्पादन कम्पनीले एक नयाँ कम्पनी स्थापना गर्नेछन् । कम्पनीमा भारतीय कम्पनी एनएचपीसीको ५१ प्रतिशत र विद्युत् उत्पादन कम्पनीको ४९ प्रतिशत शेयर स्वामित्व रहनेछ । यसअघि स्वदेशी श्रम, स्वदेशी पूँजी एवम् आन्तरिक लगानी प्रवर्द्धन गर्ने लक्ष्यका साथ सरकारले कालीकोटमा आयोजनास्थल रहेको आयोजनाको अध्ययन तथा निर्माणको ढाँचा समेत तय गर्ने गरी विद्युत् उत्पादन कम्पनीलाई अनुमतिपत्र दिएको थियो । यो कम्पनी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहत रहेको छ ।

यो आयोजनाको क्षमता ४२६ मेगावाट छ । आयोजनाको लागत करीब ६१ अर्ब ८६ करोड अनुमान गरिएको छ । त्यस्तै, अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको भारतीय कम्पनी सतलज विद्युत् निगमले नै तल्लो अरुण जलविद्युत् आयोजना पनि निर्माण गर्ने भएको छ । लगानी बोर्डको बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाका लागि ९२ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको थियो । अरुण तेस्रोमा भन्दा तल्लो अरुणमा केही थप नयाँ प्रावधान राखिएको छ ।

 
 
  
 

You may also like