भैरहवाका मासु पसलहरुमा नगरपालिकाको अनुगमन

भैरहवा ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले मासु पसलहरुमा अनुगमन गरेको छ । नगरपालिकाको अनुगमन समितीले नगर क्षेत्रमा रहेको खसी, कुखुरा, रांगा र बंगुरको मासु पसलहरु अनुगमन गरेको हो ।

अनुगमनको क्रममा पसलहरु मुख्यतः मूल्य सूची, सरसफाई, व्यवसाय दर्ता÷नविकरण, मासुको गुणस्तरता पनि सन्तोषजनक नभएको पाइएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख एवं अनुगमन समितीको संयोजक उमा अधिकारीले बताइन् ।

‘हामीले नगरमा १० वटा मासु पसलहरुमा अनुगमन गरेका छौँ‘ संयोजक अधिकारीले भनिन्, ‘अनुगमन क्रममा खान योग्य नै नरहेको साढे ३१ किलो कुखुरा मासु जफत गरी नष्ट गरिएको छ भने अनुमति नलिई प्रयोग गरिएको डिजिटल तराजु नियन्त्रणमा लिएका छौँ ।’

अनुगमनको क्रममा केही पसलमा सन्तोजनक पाइएको बताउँदै उनले मापदण्ड विपरीत संचालन भएको पसलका संचालकहरुलाई मापदण्ड अनुसार व्यवसाय संचालन गराउन सचेत गराइएको बताइन् ।

‘अहिले केही व्यवसायीलाई सचेत गराएका छौँ’ उनले भनिन्, ‘पुनः अनुगमनको क्रममा मापदण्ड अनुसार नपाइए नियमानुसार कारवाही गर्छौँ ।’

नगरपालिका कार्यालयको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपाल प्रहरी, सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन रुपन्देही लगायतको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like