सुनकोशीमा खसेको सरकारी गाडी र दुई कर्मचारीको शव पाँच दिन पछि भेटियो

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरुसहित सुनकोशी नदीमा खसेको गाडी पाँचौं दिन फेला परेको छ । गाडीसँगै दुई कर्मचारीको शव पनि फेला परेको छ ।

सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जीप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो । त्यो गाडी सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको इन्सपेक्टर सुवास थापाको कमाण्डमा रहेको गोताखोरसहितको टोलीले खोजिरहेको थियो ।

तर फेला पार्न नसकेपछि सुनकोशीको पानीको भंगालोलाई नै अर्कोतिर पठाएर खोजी गरिएको थियो । त्यसपछि गाडीसँगै दुई वटा शव फेला परेको जानकारी आएको सशस्त्र प्रहरीका डीएसपी तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार शवको सनाखत हुन सकेको छैन ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको जीपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार गाडी सुनकोशीमा खसेको थियो । चालक कृष्ण चौधरी भने घाइते अवस्थामा पौडिएर निस्किएका थिए ।

 
 
  
 

You may also like