पुसतिरको अडियो चुनावको मुखमा ल्याउनु पार्टीमाथि सुनियोजित प्रहार हो : ढाकाकुमार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले अडियो प्रकरणमा न्यायलय गइसकेको बताएका छन् । पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अदालतबाट क्लिन चिट लिएर अ‍ोफू फेरि आउने दाबी गरे ।

उनले अडियो प्रकरणले आफ्नो र पार्टीको मान, प्रतिष्ठामा आँच पुगेको भन्दै क्षमा समेत मागे । ‘भाइरल भएको अडियोले मेरो र पार्टीको प्रतिष्ठामा घात पुगेको छ । यो अडियो अथेन्टिक होइन । ह्वाट्स एपमा गरिएको कुरा रेकर्ड गरिएको भन्ने छ । त्यो सत्य होइन,’ उनले भने । उनले आफ्नो आवाजलाई तोडमोड गरिएको दाबी गरे ।

उनले पार्टीको निलम्बन गर्ने निर्णयलाई स्वीकार गर्दै न्यायलयबाट आफ्नो कुरा राखेर क्लीन चिट लिएर आउने बताए । उनले उपनिर्वाचनका बेला आएको अडियो प्रकरणलाई केही पनि नभएको र आफूलाई फसाइएको बताए । तर उनी आफैले सुनियोजित योजनाअनुरुप जनवरीको अडियो अहिले सार्वजनिक भएको बताए ।

उपनिर्वाचनलाई लक्षित गरेर रास्वपामाथि प्रहार गरिएको जिकिर गर्दै श्रेष्ठले यसलाई ध्यानमा नराख्न मतदातालाई आग्रह गरे । जनवरी–फेब्रुअरी (पुस–माघ) तिरको घटनालाई अहिले सार्वजनिक गर्नुले पार्टीमाथिको सुनियोजित प्रहारलाई पुष्टि गर्ने उनको तर्क छ ।
‘दाजुभाइ दिदीबहिनीहरुले उपनिर्वाचनमा यो अडियोलाई ध्यानमा नराख्नु होला । यो सुनियोजित रुपमा गरिएको हो । जनवरी–फेब्रुअरीमा भएको अडियो अहिले बाहिर ल्याउनु भनेको सुनियोजित किसिमले पार्टीलाई चारैतिरबाट प्रहार गर्नु हो,’ श्रेष्ठले भने । उनले न्यायालयबाट क्लिन चिट पाउने दाबी गरेका छन् ।

 
 
  
 

You may also like