रुपन्देही सुपरलिगः लुम्बिनी खुकुरी र वेष्टर्न क्रिकेट क्लब फाइनलमा

by समतल अनलाइन
Shares

भैरहवा ।एक खेल अगाबै लुम्बिनी खुकुरी क्रिकेट क्लब रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार भएको सुपर फोरको खेलमा मेलवर्न क्रिकेट क्लबलाई ५२ रनले पराजित गर्दै लुम्बिनी खुकुरीले एक खेल खेल्न बाँकी छँदै फाइनल यात्रा तय गरेको हो । अब, लुम्बिनी खुकुरीले सुपर फोरबाट फाइनल पुगेको वेष्टर्न क्रिकेट क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा ४८.५ ओभर खेल्दै सबै विकेटको नोक्सानीमा १ सय ९५ रनको योगफल बनायो । उसका लागि सन्तोष यादवले ४०, साहब आलमले ३२, निश्चल चौधरी र धिरज शाहीले २३–२३ तथा विराट भण्डारीले १५ र प्रज्वल थापाले १३ रनको योगदान दिए । बलिङमा मेलवर्नका रमेश कुर्मीले ५, बिष्णु कटरिया, मोहम्मद हुसेन, रोशनलाल गुप्ता र तुसार चौहानले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको मेलवर्न ४२.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४४ रनमै समेटियो । उसका लागि मोहम्मद हुसेनले ३८, विजय प्रजापतिले १९, रोशनलाल गुप्ताले १७, शिवकुमार मौर्यले १४ र समिर खानले ११ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । बलिङमा लुम्बिनी खुकुरीका सन्तोष यादवले ४, धिरज शाहीले ३, अजयकुमार चौहानले २ तथा इकलाख वारिसले १ विकेट लिए । लुम्बिनी खुकुरीका सन्तोष यादव म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले जनाए । बिहीबार सुपर फोरको अन्तिम खेल तिरुपति क्रिकेट क्लब र लुम्बिनी खुकुरीबीच हुनेछ ।

प्रतियोगिताको फाइनल खेल ४ गते शनिबार हुने आयोजकले जनाएका छन् । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

You may also like

This will close in 0 seconds