सामुदायिक कुकुरको बन्ध्याकरण गर्दै सिद्धार्थनगर

by समतल अनलाइन

भैरहवा ।सामुदायिक (छाडा) कुकुरहरुका कारण समस्या बढेपछि सिद्धार्थनगर नगरपालिकाको कार्यालयले शिविर संचालन गरी सामुदायिक कुकुरहरुको बन्ध्याकरण थालेको छ ।

नगरपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको सहकार्य र हिमालयन एनिमल रेस्क्यू ट्रष्ट संस्थाको प्राविधिक सहयोगमा मंगलबार देखि तीन दिने शिविर संचालन गरी सामुदायिक कुकुरहरुको बन्ध्याकरण थालेको हो ।

सामुदायिक कुकुरहरुको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनिकरण गर्न सामुदायिक कुकुरहरुको बन्ध्याकरणका लागि शिविर संचालन गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए । उनले शिविरमा खटिएको विज्ञ सहितको टोलीले नगरको टोल–टोलमा पुगेर कुकुरहरुलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याइ बन्ध्याकरण लगायत उपचार गरे पश्चात नियन्त्रण लिइएको स्थानमै छाड्ने गरेको बताए ।

उनले यस शिविरले सामुदायिक कुकुरहरुको संख्यामा कमी र रेबिजको प्रकोप न्यूनिकरण हुनेमा विश्वास लिइएको बताए । तर, खुल्ला सीमाना भएकोले भारत र अन्य पालिकाबाट पनि सामुदायिक कुकुरहरु आउने गरेको कारण समस्या रहेको बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले तीन दिनको शिविरमा एक सय ५० देखि दुई सय सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको बताए । उनका अनुसार जस अन्र्तगत मंगलबार मात्रै ५० वटा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिएको छ । यसका साथै शिविरमा सामुदायिक कुकुरहरुलाई रेबिज विरुद्ध खोप समेत लगाउने गरिएको छ ।

नगरपालिकाको कार्यालयले सामुदायिक कुकुरहरुको बन्ध्याकरणका लागि सूचना जारी गरेर वडा÷टोलमा रहेका सामुदायिक कुकुरबारे जानकारी गराउन नगरवासीलाई आग्रह समेत गरेको छ ।

‘अहिले तीन दिने शिविरमा सके जतिको बढी कुकुरहरुको बन्ध्याकरण गर्छौँ’ सिद्धार्थनगर नगरपालिकाका कृषि विकास तथा पशु सेवा शाखाका प्रमुख योगेन्द्र प्रसाद यादवले भने, ‘फलदायी देखिएमा अर्को पटक बजेट र समयावधी बढाएर शिविर संचालन गर्ने सोचमा छौँ ।’

हिमालयन एनिमल रेस्क्यू ट्रष्टका संस्थापक तथा संचालक खगेश्वर भट्टराईका अनुसार कुकुर बन्ध्याकरणका लागि ट्रष्टबाट तीन जना पशु चिक्तिसक, दुई जना प्राविधिक सहित १२ जनाको टोली खटिएको छ । यस बाहेक नगरपालिका र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पनि जनशक्ति खटिएको छ ।

सामुदायिक कुकुरहरुको बन्ध्याकरण शिविर शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी जिल्ला समन्वय समिती रुपन्देहीका सभापति उमाकान्त चापाईले कुकुरलाई संरक्षण गर्नुपर्ने तर रेविजबाट जोगिन भने यस्ता शिविर जरुरी रहेको बताए ।

‘संख्यामा बृद्धि नहुने गरी कुकुर सबै स्थानीय तहले संरक्षण गर्नुपर्छ’, उनले भने, ‘यस्ता शिविर संचालन गरेर बन्ध्याकरण गरेमा संख्या बृद्धि हुँदैन । खोप पनि लगाइने भएकाले रेविजको जोखिम पनि कम हुन्छ ।’

लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्सय विकास निर्देशनालयका निर्देशक डा.परवेज आलम खानले विज्ञान प्रविधीबाट समाधान नभएको विषय कुकुरहरुबाट हुने गरिएको बताउँदै कुकुरको संरक्षण गर्नुपर्ने बताए । उनले सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरेर निरुत्साहित नभई व्यवस्थित गर्न खोजिएको बताए ।

 

 
 
  
 

You may also like