चन्द्रकोट गाउँपालिकाको प्रगति समीक्षा कार्यक्रम सम्पन्न

by समतल अनलाइन

महेश बोहरा
गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले वडा तथा पालिका स्तरीय समिक्षा कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय शान्तिपुरमा वडा तथा पालिका स्तरीय समिक्षा गरिएको हो ।प्रत्येक वडाका सचिवहरुले हालसम्म भए गरेका कामको जानकारी गराएका थिए । प्रमुख प्रशसकीय अधिकृतले समग्र गाउँपालिकाको कार्य विवरण प्रस्तुत गरेका थिए । गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत बिष्णु प्रसाद भुसालले समिक्षा कार्यक्रमको उद्देश्य प्रष्ट पार्दै कार्यालयको कार्यविवरण प्रस्तुत गरेका हुन् ।

गाउँपालिकाले हालसम्म मुख्य गरि यातायात गुरुयोजना तयार गरि काम अगाडि बढाएको, भु वर्गीकरण गरेको, वृहत निःशुल्क स्वास्थ्य, निःशुल्क लोकसेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा संचालन, जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम प्रदान, सुकुम्बासीलाई जग्गा प्रदान गर्न निस्सा प्रदान गरिएको, पालिकाको १५ शैयाको अस्पतालको काम ६० प्रतिशत गरिएको, प्रशासकीय भवनको २५ प्रतिशत काम सम्पन्न गरेको र योजनाहरुको वडामै गई सम्झौता गर्ने गरिएको लगायतका काम समिक्षामा जानकारी गराइएको थियो ।

समिक्षाका क्रममा वडा नम्बर ८ ले योजनाको बारेमा बडापत्र मार्फत जानकारी गराएको र वडा नम्बर ४ ले सबैभन्दा राजस्व संकलन गरेको लगायतको अनुकरणीय कामको प्रशंसा गरिएको थियो । समिक्षाका क्रममा सबै वडाले यस्तै गरि काम गर्नुपर्ने बताइएको छ ।

समिक्षा कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष युवराज केसीले आगामी दिनमा सहि तथ्याङ्क संकलन गर्नुपर्ने, कानुनी रुपमा तोकिएको समयमा काम गर्नुपर्ने लगायतका कुरामा सुझाव दिनुभयो ।

गाउँपालिकाको चालु आर्थिक वर्षको वडा तह र पालिकाको प्रगति समिक्षा समेत गरेको हो । समिक्षा कार्यक्रममा गाउँपालिकाका अध्यक्ष युवराज केसी, उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी, प्रशासकीय अधिकृत बिष्णुप्रसाद भुसाल, ८ वटै वडाका वडाध्यक्षहरु तथा कार्यपालिका सदस्य लगायतको सहभागीता रहेको थियो । कार्यक्रम गाउँपालिकाका सुचना अधिकारी शिव प्रसाद ज्ञवालीले संचालन गर्नुभएको थियो ।

 
 
  
 

You may also like